सिमरा, २३ असारः जीतपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत र वडा अध्यक्ष बीच भएको विवादका कारण प्रशासकीय प्रमुखले पालिका छोडेर गएपछि रकम भुत्तानी र नगरसभामा समस्या भएको छ ।मंगलबार मेयर,उपमेयरकै सम्मुखमा रकमान्त्तरको विषयमा वडा नं ४का वडाअध्यक्ष एवं कार्यपालिका सदस्य भोजबहादुर खत्री र प्रशासकीय प्रमुख चेतप्रसाद पोखरेल बीच रकमान्तरका विषयमा विवाद भएपछि सबै जिम्मेवारी छोडेर प्रशासकीय प्रमुख बाहिरिएसँगै विकासको रकम भुत्तानी र नगरसभा नै प्रभावित हुन पुगेको हो ।
यस विषयमा सयपत्री अनलाइनलेख पोख्रेलसँग यसरी पालिका छोडेर बाहिरिँदा जनतालाई सास्ती भएन? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, पछिल्लो समयमा आएर पुष्पलाल पार्कलाई छुट्टयाइएको १० लाख रकमलाई रकमान्तर गरेर बाटोमा लगाउन दवाव दिनुभयो , आज २२ गते भैसक्यो, समय नभएकाले आफूले रकमान्तर गर्न नसक्ने भन्दा उहाँले मेयर उपमेयर कै अगाडि दुर्वाच्यपूर्ण भाषा प्रयोग गरेकोले आफू असुरक्षित महसुस गर्दै कार्यालय छोडेको बताउनुभयो साथै उहाँले आात्मआलोचना नगरेसम्म काममा नफर्कने जिकिर गर्नुभयो ।
यता वडाध्यक्ष एवं कार्यपालिका सदस्य खत्रीसँग यस विषयमा बुझ्दा आफूले नगरप्रमुखसँग तोक लगाएर फोहोर व्यवस्थापनको रकमलाई सडक ढलानमा रकमान्तर गर्न धेरैपटक आग्रह गर्दा नमानेपछि विवाद भएको स्वीकार्नुभयो । उहाँले असार मसान्तको समय भएर जनताले भुत्तानीको समस्या भोग्नपरे पनि चाँडोभन्दा चाँडो कार्यपालिकाको बैठकका लागि मेयरसँग सल्लाह गरेको दावी गर्नुभयो । उहाँले चाँडोभन्दा चाँडो आफूहरूले यसको निकास दिने जानकारी पनि दिनुभयो ।