२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल मन्त्रका साथ सिमरा पोखराको हवाइ उडान सुरु हुँदै

२०७८ भाद्र ५, शनिबार मा प्रकाशित ( साल अघि) ८३२ पाठक संख्या

सिमरा, ५ भदौः ‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल मन्त्रका साथै आन्तरिक पर्यटन पुनरुत्थानका लागि पहिलो पटक सिमरा पोखरा उडान हुन लागेको छ । लामो समयको प्रयासपछि सिमरा पोखराको हवाइ उडान सुरु हुन लागेको नेपाल टुर्स एण्ड ट्राभल्स प्रदेश २ (नाटा)का अध्यक्ष एवं पर्यटन अभियन्ता मोहनशर्मा लामिछानेले बताउनुभयो ।
उडान कहिले ?
सिमरा पोखराको पहिलो उडान भदौ १६ गते हुनेछ । बुद्ध एयरले पहिलो पटक सिमरा पोखरा उडान भर्न लागेको हो ।

1629520363975

अहिले १ दिन विराएर उडान गर्ने कार्यतालिका आएको छ । अर्थात् कोभिड संक्रमणले असर नगरे हप्ताको ३ दिन बुद्ध एयरले उडान भर्ने सिमरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामचन्द्र लामाले बताउनुभयो । उडानकै सन्दर्भबारे बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले मौषमका कारण अब उडान रद्ध नहुने र हप्ताको ३ दिनमा दिनको १ः१५  बजेको समयमा उडान भर्ने  बताउनुभयो । यात्रुको मागलाई ध्यानमा राखेर उडान थप्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययन ?
पर्यटन अभियन्ता मोहन शर्मा लामिछाने करिब ३ /४ वर्षदेखि सिमरा पोखरा उडानका लागि सम्भाव्यता अध्ययन गरिँदै आइएको बताउनुहुन्छ । मौषम प्रतिकूलताका कारण उडान भर्न सकिएको थिएन । अहिले वर्षायाम, स्थलमार्गबाट आवत जावत गर्न बाटो अप्ठेरो आदि कारणले हवाइ मार्ग नै यात्रुहरूको रोजाइ हुन पुगेकोले आफूहरूलाई हौसला मिलेको लामिछानेले बताउनुभयो ।

1629520174782

पर्यटन र आर्थिक विकासको सम्भावना ?
पर्यटन अभियन्ता मोहनशर्मा लामिछानेले पर्यटन र आर्थिक विकासको सम्भावना का सम्बन्धमा हरेक पर्यटक (बाहिरी भारतीय एवं तेस्रो मुलुकको पर्यटक समेत ) एकपटक प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्ज, एसियाकै धेरै बली चढ्ने चर्चित मन्दिर गढीमाई, ऐतिहासिक क्षेत्र सिम्रौनगढ, नेपालका चार धाममध्येको एक धाम जनकपुरधाम अर्थात् जानकी मन्दिर र सखडा भगवतीको मन्दिरको भ्रमण गरून् भन्ने चाहेको धारणा व्यक्त गर्नुभयो । जसले गर्दा प्रदेश २ आर्थिक रूपमा पनि आत्मनिर्भर बन्दै जाने साथै मानव निर्मित विभिन्न योजनाहरू भित्र्याउन सफल भइने , रोजगार लगायत अन्य आयआर्जनमा समृद्धि हासिल गर्न सकिने लामिछाने बताउनुहुन्छ ।
यसअघिको प्रयासः
सिमरा पोखरा हवाइ उडानको विषयले बेला बेलामा चर्चा पाइरहेको छ । २०७७को होलीको समय पारेर पोखराबाट आउने पहिलो हवाइ उडानलाई सिमरा विमानास्थलमा स्वागत गरिने कार्यक्रम पनि राखिएको थियो । जसमा गण्डकी प्रदेशका तात्कालिन् मुख्यमन्त्री, पर्यटन, वन तथा वातावरणमन्त्री, नेपाल टुर्स एण्ड ट्राभल्सका पदाधिकारी, होटल व्यवसायी, पर्यटन अभियन्ता लगायतको सहभागिता हुने कार्यक्रम रहेको थियो । यती एयरलाइन्सले उक्त समयमा उडान भर्ने भनिएको थियो तर मौषम प्रतिकूलताका कारण सो उडान स्थगित गरिएको थियो । त्यस्तै पर्यटन प्रवर्द्धन कार्यक्रमलाई टेवा पुगोस भन्ने उद्देश्यले एकचोटी जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरीको नेतृत्वमा सिमराबाट महिला टोलीले आफ्नै व्यक्तिगत खर्चमा पोखरा उडान भर्ने कार्यक्रम तय भएपनि मौषम प्रतिकूलताका कारण सो उडान पनि स्थगित भएको थियो ।
पहल क–कसको ?
प्रदेश नं २ अन्तरगत बाराको जीतपुर सिमरा उपमहानगरपालिका, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघ, होटल सँघ, सिमरा टुर्स एण्ड ट्राभल्स,अप्सरा टुर्स एण्ड ट्राभल्स साथै गण्डकी प्रदेश अन्तरगत पोखराको होटल व्यवसायी सँघ, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसियसन (नाटा) का पदाधिकारी, पोखरा विमानस्थलका विक्रम गौतम, नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतको संयुक्त पहलमा उडान सुरु गर्न लागिएको थियो ।

अहिले पनि प्रदेश २ का सरोकारवाला संस्था र गण्डकी प्रदेशका सरोकारवालासंस्थाको सामूहिक प्रयासमा सिमरा पोखरा उडान भर्न लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु