बिदुर खडका
सिमरा, १७ पुसः विभिन्न चाडपर्व तथा वैवाहिक कार्यक्रम तथा धार्मिक गतिविधिहरुमा मानिसले आफनो मनोरंन्जनको लागि डिजे बजाउँदा अन्य मानिसलाई समस्या पर्छ भन्ने कुरमा सायदै विचार गर्दछन् । ठूला ध्वनिले एकातिर मुटुका विरामीलाई समस्या हुन्छ भने अर्कातिर कानको जालीसमेत फुट्न सक्ने स्वास्थयकर्मीको भनाइ छ । सार्बजनिक स्थल र होटलहरुमा यस्ता डिजे बजाउँदा आसपास तथा नजिकका बस्तिहरुका बासिन्दाहरुलाई समस्या हुने गरेको छ । डिजेको करकस आवाजले ध्वनि प्रदुर्षण मात्र होईन मुटुका रोगीहरुलाई समेत असर परेको प्रदेश सभासद शोभा लामाको भनाइ छ । उहाँको भनाइ छ, “मनोरञ्जन लिनुपर्छ, डिजे बजाउनुपर्छ भने अरुलाई समस्या नहुने गरी बजाउन पाइन्छ ।” साँसद लामा समुदायमा अशान्ति मच्चाउने गरी, होहल्ला गर्ने भन्दा पनि शान्तिपूर्ण तरिकाले मनोरञ्जन लिन सबैसँग आग्रह समेत गर्नुहुन्छ ।
साँसद लामा बिभिन्न सप्ताह, पुराणदेखि चाडपर्ब मनाउँदा कर्कस आवाजले शैक्षिक क्षेत्र र बिरामीहरुमा असर पर्ने भएकोले आफनो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुन जाने भएकाले त्यसो नगर्न आफूले पनि सरोकारवालाहरुसँग कुरा गरेको बताउनुहुन्छ ।
यता होटल तथा पर्यटन व्यवसायी सँघ प्रदेश २ का महासचिव मोहनशर्मा लामिछाने भने व्यवसाय र आम नागरिकका कुरामा भिन्नता भएपनि सहमति र सहकार्य गरेर जानुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “व्यवसाय सञ्चालन गर्दा व्यवसायीले आफ्नो स्वार्थ मात्र हेरेको हुँदैन आम सर्वसाधारणको हकहितको बारेमा पनि सोचेको हुन्छ , त्यसैले यस्ता कुराहरुमा सहकार्य गरेर अघि वढ्नुपर्दछ ।”