२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता बाराको सिमरामा हुने, अन्तराष्ट्रिय खेलका लागि २० खेलाडी छानिने

२०८० कार्तिक १५, बुधबार मा प्रकाशित ( महिना अघि) १२७८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ कात्तिकः नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता बाराको सिमरामा हुने भएको छ । आउँदो कात्तिक १७ र १८ गतेका दिन जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ सिमरास्थित लोटस एकेडेमीको आयोजनामा स्क्रयाबल क्लबको नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने भएको हो ।

1698845021924
बुधबार लोटस प्रांगणमा भएको पत्रकार सम्मेलनमा नेपालका २२ जिल्लाबाट छानिएका १ सय ४० जना विद्यार्थीहरुले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिइएको थियो । जसमा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाँचथर, बारा, सिराहा, रुपन्देही, सुर्खेत, मकवानपुर, गुल्मी, इलाम, चितवन, पाल्पा, काठमाडौँ, पर्वत, भक्तपुर, कास्की, कैलाली, तनहुँ, धनुषा, दांग, मोरंग, बागलुंगलगायतका जिल्लाका विद्यार्थी सहभागी हुने स्क्रयाबल क्लब बाराका संयोजक भोजराज सुवेदीले बताउनुभयो ।
प्रतियोगिताका लागि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका लगायत ९वटा अन्य संस्थागत विद्यालयहरुसँग सहकार्य गरिएको प्रतियोगिताका संयोजक एवं लोटस एकेडेमीका कोअर्डिनेटर सुवास अधिकारीले जानकारी दिनुभयो । उहाँले कात्तिक १७ गते साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने र १८ गते प्रतियागिता गर्ने जानकारी दिनुभयो ।
राष्ट्रिय प्रतियोगिताबाट छानिएका उत्कृष्ट २० खेलाडीले आगामी माघ ५ र ६ गते नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिता लगायत विभिन्न ठाउँका प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्दै खेल्न पाउने बताइएको थियो ।
लोटस एकेडेमीका संस्थापक एवं प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको प्रेस मिट कार्यक्रममा स्क्रयाबल क्लब पोखराका अध्यक्ष केशव पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिमरा पब्लिकका प्रधानाध्यापक बसन्त ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने लोटस एकेडेमीका शिक्षक रामप्रसाद पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।
के हो स्क्रयाबल ?
सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्रयाबल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको र स्क्रयाबल खेल अहिले ४० भन्दा बढी जिल्लामा खेलाउन थालिएको स्क्रयाबल क्लवका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो ।

1698844800859
यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने केन्द्रीय अध्यक्ष पराजुलीको भनाइ थियो । स्क्रयाबल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
नेपालमा यसको सुरुवात भएको १० वर्ष मात्रै भएपनि नेपालमा आफैँले निर्माण गरिएको नेपाली र गणित विषयको स्क्रयाबल पनि सञ्चालन गरिने गरिएको पराजुलीले बताउनुभयो । उहाँले नेपालमा निर्माण गरिएको गणित विषयको स्क्रयाबल बंगलादेशमा खेलाउन सुरुवात गरिएको जानकारीसमेत दिनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु