२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ गतेदेखि सुरु हुँदै

२०८० चैत्र १८, आईतबार मा प्रकाशित ( महिना अघि) ६५८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १८ चैतः जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ गतेदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकप  हुन लागेको आयोजक नव जनजागृति युवा क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगिता युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमले सहभागिता जनाउने छन् जसमा साविक विजेता चर्च ब्वाईज युनाइटेड, मछिन्द्र फूटबल क्लब, फ्रेण्ड्स क्लब, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मोफसलका वीरगन्ज युनाइटेड क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा र आयोजक रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने आयोजकले जनाएका छन् । बैशाख ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा यसपटक विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार मात्रै दिईने भएको छ । एन्फाको सुझावअनुसार विधागत पुरस्कार कटौती गरिएको बताउँदै अध्यक्ष लामाका अनुसार विधागततर्फ उत्कृष्ट भएका खेलाडीले २५ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उदयीमान खेलाडीले १५ हजार नगद हात पार्नेछन् भने प्लेयर अफ दि म्याचले १० हजार नगद पाउनेछन् । प्लेयर अफ दि म्याचको पुरस्कार शुभारम्भ कलेजले प्रायोजन गर्ने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई नेपोभिट टायल्स, हुलास स्टील्स्, सुर्य नेपाल, यती एयरलाईन्स, सगरमाथा इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्री, एलएस न्युरो, स्टार अस्पताल, सुसप्त मेडिकल, बोटलर्स नेपाल, होटल तथा पर्यटन व्यवसायी संघले सहयोग गर्नेछन् । यसैगरी राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फूटबल संघ, बारा जिल्ला फूटबल संघले प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।एक करोड तीन लाख अनुमानित बजेट रहेको प्रतियोगिताका खेल हेर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट र अपांगता तथा ७० वर्षमाथिका बृद्धबद्धालाई निःशुल्क प्रवेश गराईने महासचिव ठकुरीले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जगदम्बा स्टील्सका प्रशासकीय अधिकृत कुमुद ढकाल, बारा जिल्ला फूटबल संघका महासचिव रामकृष्ण श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, क्लबका सल्लाहकार दिनेश राई, सुमन भट्टराई, कासिम हुसेन, इन्द दुलाल, किशोर त्रिपाठी, धनबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, क्लबका बरिष्ठ उपाध्यक्ष शंकर थापा, उपाध्यक्ष राजदास श्रेष्ठसहित क्लबका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनले खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँलेलाई जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करणका लागि प्रेस संयोजक चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु