२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

जनप्रतिनिधिलाई पत्रः शिक्षा सुधारका लागि राइट प्लेस, राइट पर्सन

२०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित ( महिना अघि) ५४३ पाठक संख्या

राजमणि बराल
प्रिय मेयरसा’ब तथा जनप्रतिनिधिज्यूहरू
सादर नमस्कार ।
म एउटा शिक्षकका तर्फबाट पत्र लेख्दैछु । जनताले तपाईहरूलाई यति ठुलो जिम्मेवारी प्रदान गरेका छन् । कतै तपाईँहरूले त्यो जिम्मेवारीलाई मजाक त बनाइरहनुभएको छैन ? राजयोग र जिम्मेवारी यति ठूलो कुरा हो कि यो सबैले पाउन र सधैँ पाउन सकिने पनि होइन । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै बनेको संविधानले स्थानीय सरकार र वडाध्यक्षलाई यति धेरै अधिकार दिएको छ सायद यो अधिकार केन्द्रीय सरकारले पनि नजिकबाट पाउन सकेको छैन ।
नेपालका ११ वटा उपमहानगरपालिका भित्र जीतपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू पर्याप्त सम्भावना र अवसरको विचमा रहेका देखिन्छन् । विभिन्न आलोचनाका बाबजुद पूर्व मेयर स्वर्गीय डा. कृष्ण पौडेलले ल्याएको शिक्षा ऐन तत्काल कार्यान्वयनमा नल्याए पनि वर्तमान मेयर राजन पौडेलले उक्त ऐनलाई प्रयोगमा ल्याउँदा यहाँका बुद्धिजिवी, नागरिक समाज र कसैले पनि तपाईहरूलाई रोकावट गरेका छैनन् ।
यही नगर शिक्षा ऐनलाई टेकेर अधिकाँश वडाध्यक्ष वा निजका प्रतिनिधि वा पाटीका व्यक्तिले क्रमशः सामुदायिक विद्यालय कब्जा गरेको अवस्था छ र यो कब्जालाई मेयर तथा जनप्रतिनिधिले आफ्नो सफलताको रूपमा लिएका छन् । यो अभ्यास काठमाडौँका मेयर बालेन साहले प्रयोग गर्न खोज्दा कानुनलाई देखाएर कार्यान्वयन नगर्न सम्मानित अदालतले आदेश दिएको थियो । हाम्रो नगरले शिक्षाको यो अधिकार पाइरहँदा कतै हजारौँ विद्यार्थीको भविष्य अन्यौलमा रहने त होइन ?
वर्तमान स्थानीय सरकारले नगरमा करिब ४ अरब बजेट कार्यान्वयनमा ल्याइसकेको छ । करिब १८/१९ लाख रुपियाँ खर्च गरेर विद्यालय सर्वेक्षण रिपोर्ट पनि सार्वजनिक भैसकेको छ । आधारभूत तह कक्षा आठको नतिजा पनि सार्वजनिक भैसकेको छ तर आज शिक्षामा देखिएको डरलाग्दो चित्र वा सामुदायिक विद्यालय र केही पक्ष निजी विद्यालयको नाङ्गो तस्बिर सार्वजनिक गरेर शिक्षकमाथि हिलो छेप्ने काम भएको छ ।
अब तपाइँहरू नै भन्नुहोस्, सामुदायिक विद्यालयका वेथिति, कमजोरी र अप्ठेरा पक्षहरूमा कहिल्यै गम्भिर भएर सोच्नु भएको छ ? आज हरेक विद्यालयमा तपाईँहरू सिमित व्यक्तिको घेरामा हुनुहुन्छ । ती सिमित व्यक्तिले तपार्इँलाई नचाइरहँदा नाच्ने रमाउने अधिकार त तपाईँलाई होला । तर हजारौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार तपाइँहरूलाई छैन । आज सामुदायिक विद्यालयमा तपाईँहरुले अध्यक्षता गरिरहँदा र स्थानीय तहले शिक्षाको अधिकार प्रयोग गरिरहँदा तपाईँहरूले गरेका गलत कर्म तत्काल चिया चौतारामा तालीको विषय बन्न सक्ला तर शिक्षाको स्तर सुधार हुन सकेन भने त्यसको जिम्मेवारी कसले लिने ?
हाम्रो नगरमा शिक्षा सुधारका नाममा गरिएको र गरिने शिक्षक सरुवाले मात्र विद्यालय सुधार हुनेवाला छैन । वडाबाट विद्यालयमा गएका बजेट प्रशासन र व्यवस्थापन विचको सेटिङ, प्रशासनको दुरदृष्टि अभियान, उद्देश्य र रणनीति अभााव, बढ्दो राजनीति भर्ति केन्द, स्वार्थका आधारमा शिक्षक रोजाइ, एक ठाउँमा असफल भएका प्रशासकलाई पुनः अर्को ठाउँमा लगेर प्रशासनको जिम्मेवारी दिने गैर जिम्मेवारी कार्य, कनिष्ठलाई प्रशासनिक जिम्मेवारी दिएर वरिष्ठताको अपमान, प्रतिशोधका आधारमा शिक्षक सरुवाजस्ता विकृतपूणर् व्यवहारले शिक्षा सुधार हुन सम्भव हुँदैन ।
यी सबै कुरा गरिरहँदा एउटा शिक्षकको जिम्मेवारी केही छैन त भन्ने प्रश्न उठ्छ । सबैभन्दा बढी जिम्मेवारी शिक्षकको हुन्छ । तर शिक्षकलाई जिम्मेवार, उत्तरदायी र क्षमता पहिचान गरेर स्वार्थभन्दा धेरै माथि उठेर अवसर प्रदान गर्ने र टिम परिचालन गर्ने जिम्मा प्रशासन र व्यवस्थापनको हुन्छ । त्यसैले शिक्षा तपाइँहरुको हातमा आइरहँदा तपाइँलाई राम्राभन्दा हाम्रा गलत नेतृत्व भएपनि राजनीति धरातल हेरेर गुटबन्दी तयार गरी सक्षम जनशक्तिलाई अवसरबाट वञ्चित गरेर शिक्षकलाई अपमान गर्ने कार्यले शिक्षा सुधार हुन सक्दैन । शिक्षा सुधारका लागि क्षमता पहिचान गरेर सहि व्यक्तिलाई सहि ठाउँ दिनुस् शिक्षा आफैँ सुधार हुन्छ । अन्यथा यो बौद्धिक समूहमा तपाइँको प्रवेशले तपाइँहरूलाई नै खरानी बनाउने निश्चित छ । घाटा र नाफाको राजनीतिले शिक्षा सुधार गर्न कठिन छ ।

त्यसोभए यसो गर्न सकिएला त?
१.वडागत बजेटको कम्तिमा २० देखि ३० प्रतिशत शिक्षा क्षेत्रमा लगाइ निशुल्क गर्न
२.विद्यालय अनुगमन निरीक्षणका लागि कम्तिमा २ जना स्रोत शिक्षक राख्न ।
३.स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरूबाट समय समयमा राय सल्लाह लिन
४.विद्यालय योजना निर्माण शिक्षक, प्रशासन, व्यवस्थापन पक्षबिच समन्वय गरेर अगाडि बढाउन,
५.प्रत्येक वर्ष फरक फरक योजना बनाउनुभन्दा दीर्घकालिन लक्ष्यको योजना बनाउन
६.वडागत सिपमूलक तालिम कार्यक्रम शिक्षक र विद्यार्थीमा गराएर विद्यार्थीलाई आयआर्जन गतिविधिमाा सहभागी गराउन
७.प्रशासक, व्यवस्थापक र शिक्षकलाई सेवाकालिन, पेशागत क्षमता विकास, सूचना प्रविधि तालिम दिएर व्यवहारिक रूपमा प्रयोगमा लगाउन,
८.नेतृत्व क्षमता पहिचान गरेर जिम्मेवारी लिने दिने
९. राइट म्यान राइट प्लेसको अवधारणा अनुसार काम गर्न
उल्लेखित बाहेक अन्य धेरै व्यवहारिक र सैद्धान्तिक कुरा साथै साना साना समस्या पहिचान गरेर अगाडि बढ्नुपर्छ । विद्यालयको प्रशासनलाई निस्पक्ष ढंगले काम गर्न र शिक्षामा सुधार गर्न राइट प्लेस राइट पर्सन नै आवश्यक हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु