सयपत्री समाचारदाता
सिमरा, ६ फागुनः नेपाल जेसिसले यही फागुन ९ गतेदेखि ११ गतेसम्म बाराको सिमरामा तीन दिने राष्ट्रिय प्रशिक्षणको आयोजना गर्ने भएको छ । ‘लोम लिडरसिप एकेडेमी २०२५’ नाम दिइएको उक्त प्रशिक्षण सिमरा जेसिसको आतिथ्यतामा नेपाल जेसिसले आयोजना गर्न लागेको हो ।
सिमरा जेसिसले मंगलबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीबारे जानकारी गराएको थियो । सिमरा जेसिसका पूर्व अध्यक्ष एवं सल्लाहकार शालिकराम अधिकारीले यस किसिमको कार्यक्रमले स्थानीय व्यपार प्रवद्र्धन हुने, राष्ट्रिय स्तरमा पृथक पहिचान बन्न पुग्ने भएकोले यो कार्यक्रम सिमरावासीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थापनाको छोटो समयमै पहिलो पटक सिमरा जेसिसले ठुलो कार्यक्रमको आयोजनामा सहकार्य गर्ने अवसर पाएको भन्दै कार्यक्रम सफल पार्न सिमराबासीको साथको जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
यस्तै सिमरा जेसिसका पूर्व अध्यक्ष लक्की रिमालले कुशल नेतृत्व एवं सबल व्यक्तित्व विकासमा योगदान पुर्याउन, यस क्षेत्रलाई जेसिस नगरीको रुपमा नेपालभरी स्थापित गराउन, प्रत्येक शाखाका अध्यक्ष, कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षहरुको क्षमता अभिवृद्धि, वार्षिक कार्यक्रमसम्बन्धी छलफल तथा युवाका अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमबाट प्रस्फुटन गर्ने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिनुभयो ।
सिमरा जेसिस २०२५ का अध्यक्ष द्वारिकाराज पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रममा सात सय ८४ जना अर्थात देशभरिका एक सय ८१ शाखाहरुबाट प्रतिशाखा ४ जना गरी ७ सय २४ जना, राष्ट्रिय पदाधिकारी ५०, ट्रेनर १० जनाको सहभागिता रहने जनाइएको थियो । होटल इच्छा प्रालि सिमरामा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन फागुन १० गते विहान ९ बजे गरिने जानकारी गराइएको थियो ।