सयपत्री समाचारदाता
सिमरा, १० फागुनः विभिन्न कार्यक्रमसहित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २३ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाको २३ औं वार्षिकोत्सव शनिबार विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले विभिन्न लोक संस्कृति झल्किने नृत्य एवं सांगीतिक प्रस्तुति दिएका थिए । अझ आकर्षणको कुरा के थियो भने छात्रछात्राहरुको पढ्दै कमाउँदै गर्ने कला अर्थात पाक कलाको प्रवद्र्धन गर्न, उनीहरुलाई प्रोत्साहन गर्न कार्यक्रम स्थलमा फुड स्टल राखिएको थियो । जसमा छात्रछात्राहरु आाआफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर विभिन्न थरिका परिकारसहित अतिथि तथा दर्शकको स्वागत गरिरहेका थिए ।
विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा लामा वाइवा, डुमरवाना बहुमूखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, नेरामावि फत्तेपुरका प्रधानाध्यापक अक्षय चौधरी,सिमरा पब्लिक ईङलिस स्कुल सिमराका प्रिन्सिपल बसन्त ढकाल, न्यू एकताका प्रिन्सिपल मदन रिजाल, लोटस एकेडेमीका सुभाष अधिकारीलगायत सञ्चारकर्मी, शिक्षक तथा अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभूति एजुकेशन नेटवर्कका निर्देशक श्यामप्रसाद भट्टराईले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका तर्फबाट विद्यालयकी शिक्षिका शोभा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीको नेतृत्व क्षमताको विकासका लागि कक्षा ८ की छात्राद्वारा पनि स्वागत मन्तव्य व्यक्त गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक किशोरबाबु श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
वार्षिकोत्सव समारोहका अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मानसमेत गरेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुदसहित विभिन्न रचनात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।