सयपत्री समाचारदाता
सिमरा, २७ चैतः आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा १५ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट पक्का गरेको हो ।
सिमरा रङ्गशालामा शुक्रबार साँझ हिमालयन शेर्पाले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्नेछ । हिमालयन शेर्पाको जितमा भाारतीय खेलाडी रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । आयोजक सिमराका लागि युवराज खड्काले गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेको आयोजकविरुद्ध दोश्रो हाफको शुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भयो । खेलको ४७ औं मिनटमा शिबम् खड्काको क्रसबल नियन्त्रणमा लिंदै आयोजकको डिबक्स भित्रबाटै रोबर्टले आकर्षक गोल गरेका थिए ।
खेलको ५८ औं मिनटमा हिमालयन शेर्पाकमा लागि समिरराज थोकरले अग्रता दोब्बर पारे । सेण्टरलाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षापंक्ती तोड्न सफल थोकरको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाएका थिए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिंदै किपर विट भएको अवस्थामा समीरले गोल गरेका थिए ।
खेलको ७३ औं मिनटमा युवराज खड्काले गोल गर्दै आयोजक सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका लागि पर्याप्त भएन । मोहित गुरुङको क्रसपासमा युवराजले गोल गरेका थिए । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनलाई भिएक्सएल एजुकेशनका सञ्चालक उत्सव नराल र ग्रीन इनर्जीका सञ्चालक शैलेश साहले १० हजार नगद र ट्रफि प्रदान गरे ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुनेछ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना तय भएको आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।