२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आऊ औँला काटेर राख

२०७८ जेष्ठ ९, आईतबार मा प्रकाशित ( साल अघि) १४६२ पाठक संख्या

कविता

आऊ औँला काटेर राख

                        रेनुका ‘सोलु’

वाक स्वतन्त्रताका लागि
देश संवृद्विका लागि
राजतन्त्र फालेर लोकतन्त्र हुँदै
गणतन्त्र भित्र्याउँदा
खोसिएको हो मेरो सिउँदोको सिन्दुर
सिउँदो पखालिँदै गरेको
दुई घुट्को पानी पिउँदै
प्रण गरेकी हुँ मैले
काखको सन्तानसँग

चिन्ता नगर
तिम्रो बाबा
तिम्रै पुस्तालाई उज्याल्यो ल्याउन
जल्दाजल्दै आफू निभेका हुन्

विडम्बना
आज
एकमुठ्ठी सास र एक पित्को उज्यालो अपेक्षा गर्दै
अस्पतालको प्यासेजमा
लाइन बस्दा बस्दै
निभ्यो मेरो काखको दियो

अब, आउनुस् महोदय,
शव जलाउनु अघि
दायाँ हातको बुढि औँला काटेर
सुरक्षित राखिराख्नुस्
हजुरले तोक्नुभएको चुनावमा
हजुरलाई नै ल्याप्चे हान्न काम लाग्छ

किनकी
हजुरलाई
मेरो रातो सिउँदो र भरिलो काख
अनि उज्यालो संसार होइन
शक्ति र सत्ता चाहिएको छ
अनि त रातारात
संविधानको पन्नापन्ना जलाएर
आगो ताप्दै
चुनाव घोषणा गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%१%४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु