२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

स्थानीय सरकार र कोरोना महामारी

२०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ( साल अघि) ९३० पाठक संख्या

राजमणि बराल
कोरोना महामारीबाट अहिले विश्व नै आक्रान्त बनेको छ । पहिलो चरणको महामारीले भन्दा दोस्रो चरणको यो महामारीले हानी नोक्सानी र धेरै नै मानवीय क्षति पुर्याएको छ । विशेषगरी अहिलेको महामारीमा भारत र नेपाल बढी प्रभावित देखिएका छन् । कोरोनाको दोस्रो लहर वा भेरियन्टसँगै तेस्रो भेरियन्टको चर्चा पनि उत्तिकै चलिरहेको छ ।
नेपाल संघीयतामा गएसँगै तीन प्रकारका सरकारहरू सञ्चालनमा छन् । विशेषगरी केन्द्रीय सरकार कोरोना महामारीभन्दा खतरा कुर्सी, पद र सत्ता लोभको महामारीले ग्रसित छ वा भनौँ, सरकार बचाउन एकपछि अर्को असंवैधानिक निर्णय गरिरहेको समयमा उसले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन हरसम्भव प्रयास गरिनेछ भन्ने बाहेक यो महामारीको बेलामा जनताले प्रशंसा गर्ने कुनै महत्वपूर्ण कार्य गरेको छैन ।
प्रदेश सरकारहरूमा पनि २ नं प्रदेशबाहेक सबै प्रदेशहरू सरकार बचाउने खेलमा मात्र सीमित देखिन्छन् । राणा, पञ्चायत, प्रजातान्त्रिक र लोकतान्त्रिक शासन व्यवस्था भोगेका जनतालाई वर्तमान शासकले नै सङ्घीय व्यवस्था उत्कृष्ट राज्य व्यवस्था हो, जनताले राज्यका सुविधाहरू घरघरमा पाउन सक्छन् र केन्द्रीय शासन प्रणालीभन्दा विकेन्द्रीकृत शासन प्रणालीको उत्कृष्ट नमुना सङ्घीय व्यवस्था भनिरहँदा आज जनताले पञ्चायती शासन, राजासहितको प्रजातन्त्र फालेर मुलुकमा जनताकै छोराछोरी राष्टपति र कार्यकारी प्रधानमन्त्री बनाउने अवसर पनि दिए ।
आज मुलुक यति ठूलो महामारीको चपेटामा परेको छ कि अस्पतालमा भर्ना भएका अधिकाँश बिरामी भर्ना भएको केही दिन नबित्दै मृत्युवरण गरेको समाचारहरू आइरहेका छन् । जनतामा एक किसिमको डरत्रास र भोक छ साथै सुरक्षाका लागि राज्यसँग सहयोग खोजिरहेका छन् । तर सरकार भने पूरै महामारी नियन्त्रण गर्नबाट विमुख मात्र छैन ,सञ्जालमा आफ्ना शुभेच्छुक कार्यकर्ताबाट उल्टै एक अर्कालाई गालीगलौज र कुर्सी बचाउने खेलमा समय खेर फालिरहेको छ । जुन कुराले जनताको पीडामा मल्हम लगाउनुको सट्टा नुनचुक छर्ने काम जस्तै भएको छ । समग्र नेताप्रति जनतामा वितृष्णा पनि बढ्दो छ । यस्तो अवस्थामा संघीय र प्रदेश सरकार गैह्र जिम्मेवार भएतापनि स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । तर अपेक्षित रूपमा हुन सकेको छैन ।
स्थानीय सरकारका लागि अहिलेको कोरोना महामारी जनतालाई सेवा गर्ने चुनौती र अवसर दुवै रूपमा देखा परेको छ । चुनौति यो अर्थमा छ ः यहाँ निश्चित राजनीतिक दलको झण्डा बोक्ने झुण्डहरूले सामूहिक र आफूभन्दा फरक विचारका व्यत्तिहरूबाट सहयोग र सल्लाह लिने कार्यमा न त नेतृत्वले, नत कार्यकर्ताले यसलाई सहज रूपमा लिन सक्छन् । अरुको अस्तित्व स्वीकार नगर्दा एक्लो प्रयासले मात्र कोरोना महामारीलाई न त जित्न सकिन्छ नत जनताको पीडामा मलमपट्टी लगाउन सकिन्छ । कहिँकतै छिटपुट प्रयासहरू भएपनि त्यसको व्यापक विरोध र आलोचना हुने गरेको देखिन्छ । स्थानीय सरकारका लागि यो चुनौति हो ।
अनि अवसर यो अर्थमा छ ः राज्य पूरै महामारीबाट आतङ्कित भएको अवस्थामा आफ्नो निश्चित शासन क्षेत्र गाउँपालिका/नगरपालिका/उपमहानगरपालिकामा स्थानीय सरकारले जनतालाई प्रथमतः स्थानीय सञ्चारमाध्यम, रेडियो पत्रपत्रिका वा आफ्ना सञ्जालहरू मार्फत भयभित वा त्रसित् नहुन आव्हान गर्नुपर्दछ । यसले जनतामा ठूलो आत्मबल बढ्दछ र उनीहरूले आफ्नो सरकार भएको अनुभूति गर्दछन् । किनकी कोरोनामा आत्मबल नै महत्वपूर्ण उपचार हो भन्ने कुरा सर्वविदितै छ । यो त केवल प्राथमिक उपचार मात्रै हो । यसका साथै स्थानीय सरकारले जनतालाई अवस्था अनुसारको सहयोग गर्नुपर्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यसका लागि आफ्नो मातहतका कार्यपालिका, वडा, कर्मचारी प्रशासनबाट तत्काल आपत्कालिन संकटकाल घोषणा गर्नुपर्दछ । राजनीतिभन्दा माथि उठेर प्रतिपक्ष दलहरू , पत्रकार, बुद्धिजीवि, गैह्रसरकारी सँघसंस्था, उद्योग वाणिज्य सँघ, उद्योगपति, सहकारी र नागरिक समाज, सङ्घीय र प्रदेश प्रतिनिधिसहितको एउटा महाममारी नियन्त्रण एवं सहयोग वयवस्थापन समिति मार्फत जनतालाई सहयोग र उपचारका लागि तत्कालै महत्वपूर्ण निर्णय गर्नुपर्दछ । यो कुरालाई स्थानीय सरकारले आफ्नो एक्लो प्रयासबाट मात्र सम्भव नहुने भए सहयोगका लागि सबैसँग अपिल गर्नुपर्दछ । यसरी सबै जुटेर लड्ने युद्धले कोरोना नियन्त्रणमा अवश्य विजय प्राप्त गर्न सकिन्छ र जनतालाई सहयोगको प्रत्याभूति दिन सकिन्छ ।
आफूसँग भएका स्थानीय स्वास्थ्य जनशक्ति , क्रियाशिल सहयोगी युवा समूह साथै सम्पूर्ण सरोकारवालाहरूलाई समेटेर अघि बढ्नुपर्दछ । वडा र नगरका अति आवश्यकबाहेकका अन्य वजेटहरूलाई कटौती गरेर राहत कोषको सुरुवात गर्नुपर्दछ । उक्त कोषमा उद्योग वाणिज्य सँघ, उद्योगपति, समाजसेवी, वितीय संघसंस्थालाई सहयोगको लागि अपिल गर्दै सहयोग जुटाउनुपर्दछ । उक्त कोषमा जम्मा भएको सहयोग दैनिक ज्यालादारी, मजदुर, सकुम्वासी, कमजोर आर्थिक अवस्था भएका जनतालाई खाद्यान्न लगायत आवश्यक परेका राहत सामग्री उपलब्ध गराउनुपर्दछ । यसका साथै आफ्ना जनतालाई समयमा आवश्यक खोपको मात्रा दिएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्दछ । त्यस्तै कोरोना सङ्क्रमित भएका व्यक्तिहरूलाई माया ममतासहितको आइसोलेसललाई थप व्यवस्थित गरी महामारी रोगका विशेषज्ञसँग सम्पर्कमा रहने, आवश्यक परे सेवा लिने कार्य गर्न सकेमा जनतामा स्थानीय सरकारप्रति माया र सद्भाव बढ््नुको साथै विषम् परिस्थितिमा महामारी नियन्त्रण गर्न सहज हुन्छ भने स्थानीय सरकार र सरोकारवालालाई जनताको सेवा गर्ने अवसर जुट्दछ । त्यसैले स्वार्थभन्दा माथि उठेर स्थानीय सरकार र सरोकारवालाहरू एकतावद्ध हुनसके स्थानीय सरकार सफल र हामी सर्वसाधारणले पनि सरकारको अभिभाकत्व पाएको महसुस गर्ने थियौँ । ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%५%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु