२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अनिश्चित बन्दै

२०७८ अषाढ ११, शुक्रबार मा प्रकाशित ( साल अघि) ९६५ पाठक संख्या

राजमणि बराल
सिमरा, ११ असारः बाराका विभिन्न स्थानीय तहले आर्थिक बर्ष २०७८/७९को नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम घोषणा गरिरहँदा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा भने अनिश्चित जस्तै बनेको छ । प्रत्येक वर्षको असार १०गतेभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी असार २०गतेसम्म पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि असारको ११ गते हुँदासम्म नगरसभा उद्घाटन समेत नभएपछि अनिश्चित जस्तै बनेको हो ।
नगरसभा समयमा हुन नसक्दा समस्या बढ्दै जाने र समयमै बजेट पारित नहुँदा नगरको आर्थिक गतिविधि चलायमान हुन पनि नसक्ने विश्लेषकहरूको भनाइ छ । समयमै नगरसभा नहुँदा नयाँ आर्थिक बर्षको राजस्व संकलनमा समेत ढिलाइ हुने र अप्ठ्यारो अवस्थामा आकस्मिक खर्च गर्न समेत समस्या हुने उनीहरूको टिप्पणी छ ।
वडा नं ७ का वडा अध्यक्ष एवं कार्यपालिका सदस्य रामवावु गुप्ता पटक पटक नगरसभाको कुरा गर्दा नगर प्रमुख तथा उपप्रमुखले यस विषयमा चासो नदिएको र अब आफूहरूले पनि फरक ढङ्गले सोच्नुपर्ने अवस्था आएको बताउनु हुन्छ ।
नगरसभा समयमै किन हुन सकेन त भन्ने प्रश्नमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य एवं वडा नं १४का वडा अध्यक्ष रामशरण बर्तौला भन्नुहुन्छ , “तीन महिना भयो कार्यपालिका बैठक नबसेको र आफूले एक हप्ता अगाडिनै मेयर उपमेयरलाई समयमानै नगर सभा गरौँ भन्दा उहाँहरूले खासै चासो देखाउनुभएन ।”
यस्तै अर्का कार्यपालिका सदस्य एवं वडा नं १० का वडा अध्यक्ष सरोज पटेलले कानुनी हिसाबले १० गतेसम्म हुनुपर्ने हो तर आफूहरूलाई अहिलेसम्म कुनै जानकारीनै नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ , “समयमा बजेट नआउदा काम गर्न र भुक्तानीमा समस्या हुन्छ ।अब हामी वडा अध्यक्षहरू बसेर छलफल गर्छौँ ।”
नगरसभा गर्न किन ढिलाएको भनि नगरप्रमुख कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी र प्रशासकीय प्रमुख चेतप्रसाद पोखरेलसँग कुराकाानी गर्दा आन्तरिक तयारी नपुगेकोले केही ढिलाइ हुन गएको बताउनुभयो । उहाँहरूले आवश्यक तयारी गरी चाडैं नगर सभा हुने दावीसमेत गर्नुभयो । “तीन महिनासम्म कार्यपालिका बैठक बसेन भन्ने गुनासो छ नि ?” भन्ने प्रश्नमा सो कुरा निराधार भएको प्रशासकीय अधिकृत पोखरेलले जिकिर गर्नुभयो । उहाँले आफू कोरोना संक्रमण भएर आइसोलेशनमाा बस्नुपरेका कारण केही समय कार्यपालिका बैठक वस्न ढिला भएको कुरा भने स्वीकार गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु