२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शीतलहरमा शिक्षाको न्यानो घाम छर्दै ९१ वर्षीय बाबा

२०७८ माघ ७, शुक्रबार मा प्रकाशित ( साल अघि) ७६७ पाठक संख्या

सीता अधिकारी
श्रीपुर (बारा), ७ माघः खाने मुखलाई जुँगाले छेक्दैन भने झैेँ, मनमा जोश जाँगर छ भने उमेर बाधक बन्दैन भन्ने कुरालाई चरितार्थ गरिदिएका छन् । यहाँका ९१ वर्षिय एक वृद्ध बाबाले । वरिपरि गाउँभरिका वालबालिकाले घेरेका हुन्छन् उनलाई । कण्ठ गरेका र दिएका गृहकार्य बुझाउन होड हुन्छ बालबालिकाको । चिसो मौसम् । त्यसमाथि तराईको शीतलहर । चिसो भुइँमा बसेर भएपनि शिक्षा आर्जन गरिरहेका हुन्छन् बालबालिका र शिक्षाको पारिलो घामले न्यानो प्रदान गरिरहेका छन् ९१ वर्षीय वृद्ध रामशरण दास ।

1642769013435

बाराको कलैया उपमहानगरपालिका २४ बेलवाडी श्रीपुरमा रहेको रामजानकी मठका पूजारी रामशरण दास (बाबा) ९१ बर्षको हुनुभयो । उहाँले ४२ वर्षदेखि निरन्तर स्थानीय बालबालिकालाई ट्युसन पढाउँदै आउनुभएको छ । बिहान सबेरै उठेर पूुजापाठ गरेपछि डेढघण्टा र दिउँसोको समयमा २ घण्टा बालबालिकालाई पढाउने उहाँको दैनिकी हो । उहाँकै भाषामा भन्दा करिव ५० जना बालबालिका अहिले उहाँसँग ट्यूसन पढ्न आउँछन् । कहिले त ६० जनासम्म पनि पुग्छन् ।

1642768973839

औपचारिक शिक्षा कक्षा ६ सम्म अध्ययन गरेको बताउने उहाँ अहिले आधारभूत तहका बालबालिका पढाउने गरेको बताउनुहुन्छ ।
विद्यालय लागेका बेला विद्यार्थीहरु विद्यालयमा जान्छन् तर विहान र बेलुकाको समयमा आफूसँग पढ्न आउने उहाँले बताउनुभयो । अहिले जाडो विदा र संक्रमणका समयमा दिउँसो बालबालिका आउने गरेको उहाँको भनाइ छ पूजारी बाबाका नामले बालबालिकाहरुले दासलाई सम्बोधन गर्छन् । मन्दिरबाट घर पुग्न धेरै समय लागदैन उहाँलाई तर उहाँ घर र पारिपारिक तथा सँसारिक मोहबाट आफूलाई टाढा राखेको बताउनुहुन्छ । कलैया उपमहानगरपालिकाको वडा नं.१६ विद्यानगरमा उहाँकी पत्नी र छोराहरु बसेपनि घर नगएको उहाँको ४५ वर्ष भैसकेको छ । उहाँको भनाइ अनुसार पारिवारिक संसारबाट विरत्तिएर ४५ बर्ष अघि घर छोडेको र २ बर्ष साधुसन्तहरुसँग विताइ त्यँहीबाट आफ्नो जात त्याग गरी दास (सन्यासी) भएको हो ।
स्थानीयले उपलब्ध गराउने सहयोग र बालबालिका पढाएवापत पाईने रकमले उहाँको विहान बेलुकाको छाक टर्ने गरेको छ । प्रति बालबालिका उहाँले मासिक ५० रुपियाँ लिनुहुन्छ । सुरु सुरुमा उहाँले १० रुपियाँमा पढाउनुहुन्थ्यो । महंगी बढेसँगै उहाँको ट्यूसन शुल्क ५० पुगेको छ । त्यसमा पनि कतिले दिँदैनन् । कतिले मन्दिरको काममा सरसहयोग गर्ने गर्दै आएका छन् ।

1642769023894

कुनैदिन कुनै कारण बच्चाहरुलाई पढाउन नपाउँदा आफूलाई नरमाईलो लाग्ने गरेको सुनाउँदै उनीहरुसँगै भुल्ने बानी परेको बताउनु हुन्छ ।
आफूसँग ट्यूसन पढेका धेरै बालबालिकाहरु जागिरे भएको, कोही मास्टर, कोही हेड मास्टर , संघसंस्थामा जागिरे, बैंकका म्यानेजर बनेको देख्दा खुशी लागेको बताउनुभयो ।
बाबासँग पढ्न आउने बालबालिकाहरु घरबाटै बोरा बाकेर आउँछन् । जाडो होस् या गर्मी बारै महिना बाबाले यहाँका बालबालिकालाई पढाउँदै आउनु भएको छ, । स्थानीयहरु आफूहरुले सक्दो सहयोग गरेको बताउँदै आएका छन् । उनीहरु मन्दिरका पूजारी बाबालाई कुनै सँघसंस्थाले सहयोग गरिदिए झन राम्रो हुने धारणा राख्दछन् । बाबाले समाजमा शिक्षाको चेतना बढाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयको भनाइ छ ।

1642769005129

बाबासँग ट्यूसन पढ्न आएका जमुदिन, खुशी , फत्मालगायतका बालबालिकाहरुले बाबाले सबैलाई राम्रोसँग पढाउने र बुझाएर सिकाउने बताउँछन् । बाबाको यो सत्कर्मलाई सलाम गर्नैपर्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु