सीता अधिकारी
सिमरा, ३० चैतः आसन्न स्थानीय तहको निर्वाचनको लागि आचारसंहितालाई लक्षित गर्दै आफूले प्रयोग गर्दै आएको गाडी नीजगढका नगरप्रमुख सुरेशकुमार खनालले फिर्ता गर्नुभएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई बुधबार एक समारोहकाबिच चाबी हस्तान्तरण गरी गाडी फिर्ता गर्नुभएको हो । आफूले प्रयोग गर्दै आएको गाडी यसरी फिर्ता गर्ने जनप्रतिनिधि सम्भवतः खनाल नै पहिलो हुनुहुन्छ । उहाँले नगरपालिकालाई गाडी फिर्ता गरी जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूलाई सावित गर्नुभएको छ । आउँदो वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनको लागि आचारसंहितालाई लक्षित गर्दै आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन नगरपालिकाकालाई फिर्ता गरेको नगरप्रमुख खनालले बताउनु भयो । प्रमुख खनालले सवारी साधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गर्नु भएको छ । उहाँले आसन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नीजगढको नगरप्रमुख पदमा पुनः आकांक्षी भएको बताउनु भएको छ । कार्यसम्पादन मुल्यांकनमा मधेश प्रदेशमै उत्कृष्ट नगरपालिकाको रुपमा काम गरेपनि धेरै योजना र निजगढलाई स्मार्टसिटी बनाउने आफनो अधुरो योजना सम्पन्न गर्न एक पटक फेरि नगरप्रमुखका रुपमा दोहोरिन चाहेको खनालले बताउनुभएको छ ।