समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा आकाँक्षी देखिएका १३ युवाको नाम नगर काँग्रेस कमिटिले सिफारिस गरेको छ । आकाँक्षी १३ जनाले आफूलाई अब्बल दावी गरिरहेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिले गठबन्धनीय तालमेललाई प्राथमिकता दिँदै केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिसकेको छ । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको आकाँक्षी बनेका युवासँग उनीहरुले गरेका राजनीतिक संघर्षका बारे प्रकाशन गर्दै जाने निर्णय गरेका छौँ :
को हुन् राजमणि बराल ?
वि. सं २०३७ सालमा सिन्धुलीको ग्वालटारमा माता चन्द्रकुमारी र पिता विश्वमणि बरालबाट जन्मिएका राजमणि बराल सानैदेखि नै राजनीतिमा चासो राख्ने व्यक्ति हुन् । वि. सं २०४६ सालमा प्रजातन्त्रका लागि आन्दोलन हुँदा गाउँमा पञ्चायतको विरुद्ध नेपाली काँग्रेसको अभियानमा अग्रजहरु भेला भएका ठाउँमा राजनीतिक कुरा चासो लिएर सुन्ने गर्थे । नौ वर्षकै उमेरदेखि उनीमा राजनीतिक चेत पस्न थालिसकेको थियो । तत्कालिन गाउँ पञ्चायतको कार्यालयमा पञ्चायती झण्डा हटाएर अग्रजहरुले काँग्रेसको झण्डा गाडेको विषयलाई लिएर राजनीतिक खैलाबैला समेत मच्चिएको थियो । त्यतिबेला देखि नै आफूमा राजनीतिक चेत पलाएको युवा नेता बराल बताउँछन् । उनले वि. सं २०४९ सालमा श्री कौशिका माविमा कक्षा ६ मा पढ्दै गर्दा नेपाल विद्यार्थी सँघको सक्रिय सदस्यता लिई काम गर्न थालेका थिए । वि. सं २०५५/२०५६मा सिन्धुली बहुमुखी क्याम्पसमा क्याम्पस इकाइ सदस्यका रुपमा काम गरेका र ठाकुरराम बहुमुखी क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसँघको राजनीतिमा सक्रिय रुपमा लागेका थिए ।
केन्द्रीय क्याम्पस कीर्तिपुरमै पढ्दा विं सं २०६२/०६३ को दोस्रो जनआन्दोलमा लोकतन्त्रको स्थापनाका लागि काठमाडौँको कलंकीमा सक्रीय सहभागी हुँदा प्रहरी दमनबाट दाहिने हात भाँचिएको थियो । उनको योगदानको कदर गर्दै तत्कालिन समयमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा जनआन्दोलनलाई उत्कर्षमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मानित समेत भएका थिए ।
बरालले निरन्तर नेपाली काँग्रेस पार्टीमा आवद्ध रही नेपाल ट्रेड यूनियन मध्यमाञ्चल युवा संयोजक, नेपाल प्रजातन्त्रवादी प्राध्यापक सँघको प्रतिनिधि, जीपी फाउण्डेशन बाराको जिल्ला सचिव, जीतपुरसिमरा उपमहानगरपालिका नगर शिक्षक सँघको अध्यक्षसमेत भई नेपाली काँग्रेस पार्टीलाई सहयोग पुर्याउँदै आएका छन् ।
उपमेयर पदको दावी किन ?
लामो समय नेपाली काँग्रेसमा आवद्ध भई स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगपतिलगायत आम जनतामा विश्वास दिलाउन सक्षम भएकोले, सबैको साथ र सहयोगले आफूले टिकट पाएको खण्डमा जीतपुरसिमरा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउन स्पष्ट खाका र भिजन भएकोले, पार्टीले उचित मूल्यांकन गरी चुनाव जितेर उस उपमहानगरपालिकामा भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रशासनिक चुस्तता कायम राख्नुका साथै यस नगरलाई नेपालकै उत्कृष्ट नगर बनाएर जीतपुरसिमरा वासीको शीर उच्च बनाउने क्षमता आफूमा रहेकोले आफ्नो उम्मेदवारी उपमेयर पदका लागि भएको बताउँछन् । राजनीति पेसा नभएर सेवा हुनुपर्छ भन्दै उनले आफू उपमेयर भएमा राज्यको कुने पनि सेवा सुविधा नलिने र यस नगर भित्रका महिला,दलित, जनजाति, पिछडिएका समुदाय, जेष्ठ नागरिक, बाल बालिकाहरुलाई विशेष प्राथमिकतामा राखेर योजना बनाइने र आफ्नो कार्यकालमा कसैलाई अन्याय महसुस हुन दिने छैन भन्ने प्रतिवद्धता समेत व्यक्त गर्दछन् ।
जनसंख्या अध्ययन र शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नात्तकोत्तर उत्तीर्ण गरेका बराल यस औधोगिक नगरमा उद्योगी व्यवसायीहरुलाई उत्साहजनक हिसावले आफूले सहयोग गर्दै हरेक युवालाई एक घर एक रोजगार दिन सक्ने योजना आफूमा रहेको बताउँछन् । माटो सुहाउँदो कृर्षिबाली, पर्यटन विकास, प्राविधिक शिक्षा, आधारभूत स्वास्थ्य सुविधा, पनि आफ्नो योजनाभित्र पर्ने भएकोले नगरको समृद्ध विकासमा आफ्नो स्पष्ट रोडम्याप सफल हुने दावी गर्दछन् । १६ वर्षदेखि निरन्तर सामुदायिक कलेज र विद्यालययमा अध्यापन गर्दै आएका बराल आफू युवा र क्षमतावान भएकोले पार्टीले सही मूल्यांकन गर्छ भन्ने विश्वास गरेका छन् ।
प्रस्तुतिः सीता अधिकारी