सीता अधिकारी
सिमरा, ३० साउनः लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालगंगा नदीको पुल सोमबारदेखि सञ्चालनमा आएको छ । जग्गा विवाद झिकेर निर्माणाधिन बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र परेको अवस्थामा स्थानीय बासिन्दा, संघर्ष समिति, वडा, नगर र संघीय साँसदको सक्रियतामा पुल सञ्चालनमा आएको हो ।
सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगर १२, १५ र १८ को सीमानामा पर्ने बालगंगा खोलाको पुल सखरा हाउजिङ कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीयले पुल निर्माणका लागि पटक पटक आग्रह समेत गरेका थिए । संघर्ष समिति नै बनाएर सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । वर्षाको समय र उद्योग कल कारखानामा काम गर्ने मजदुर तथा सर्वसाधारणलाई दैनिक आवात जावत गर्न कठिन भएको भन्दै साँसद रामबाबु यादव, पुल सञ्चालनका लागि आफैँ सक्रिय भएर काम गराएपछि पुल सञ्चालनमा आएको हो ।
साँसद यादवले आफ्नो प्रयासलाई स्थानीय वासिन्दा, संघर्ष समितिको टिम, स्थानीय राजनीतिक दलका नेताहरु, वडा अध्यक्षहरु, नगर तथा व्यवसायीहरुले साथ दिएकोमा धन्यबादसमेत व्यक्त गर्नुभएको छ ।
करिब १२ करोड लगानी भएको पुल संघीय साँसद रामबाबु यादवले उद्घाटन गर्नुभएको हो । करिब २ सय ५० मिटर लामो पुलले साढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन् । सिमरा(कोहल्वी हुलाकी सडकखण्डको बालगंगा पुल सञ्चालनमा आएपछि बारा र रौतहटका बासिन्दालाई आवागमन सहज भएको छ ।