सीता अधिकारी,
सिमरा, ३० भदौः आफूले भनेअनुसार जग्गा नापजाँचको मुचुल्कामा सही नगरेको भन्दै दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर ३मा वडा अध्यक्षले दुर्व्यवहार गरेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार आन्दोलित भएका छन् ।
वडा नम्बर ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार बैठा र अम्बिकाप्रसाद कुसवाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै दुर्व्यहार गरेपछि कर्मचारीहरुले कारवाहीको माग गर्दै वडाको कामकाजसमेत ठप्प पारेका हुन् ।
यसैवीच कर्मचारीले वडा नं ३ का वडाध्यक्ष तारा कार्कीले माफी मागि आफूहरुलाई काममा फर्कन पाउने वातावरण तयार गरियोस भनि नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
कर्मचारीहरुका तर्फबाट नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाउँदै लेखा प्रमुख राजेन्द्र कार्की
यता वडा नं ३ का वडाध्यक्ष तारा बहादुर कार्कीका अनुसार रामवनमा रहेको कित्ता नं २५ र २६ को शान्तबहादुर मल्लको जग्गा सामुदायिक वन क्षेत्रमा परेकाले नापजाँच गर्न नगरपालिकाको अमिन बोलाएको तर अमिनले नापजाँच गरी मुचुल्का उठाउन लगाउँदा सहीछाप गर्न मानेनन् । वडाध्यक्ष कार्कीले उक्त जग्गामा जोडिएका भूमाफियासँग कर्मचारीको समेत मिलेमतो भएको आरोप लगाएका छन् । उनले कर्मचारीहरुलाई आफूले केही नगरेको दावी गरेका छन् साथै आफूले कुनै गल्ती गरेको प्रमाणित भए माफी माग्न तयार रहेको बताएका छन् ।