सीता अधिकारी
सिमरा, १२ असोजः विश्व रेविज दिवसको अवसरमा सिमरामा घरपालुवा कुकुर विरालालाई खोप कार्यक्रमको आयोजना गरिएको छ । वन हेल्थ, जिरो डेथ भन्ने मूल नाराका साथ जीतपुर सिमरा उपमहानगरपालिका कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा सिमराले रेबिज विरुद्ध खोप कार्यक्रमको आयोजना गरेको हो । कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा सिमराका प्रमुख राधिका भारतीले आज दिनभरि र बाँकी भएकालाई भोलि बिहीबार पनि निशुल्क खोप लगाउन सकिने जानकारी दिनुभयो ।
रेबिज के हो ?
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने गर्दछ । यसलाई अहिले आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
दिवसको सन्दर्भ
सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतका लागि उनको सम्झना गर्ने गरिन्छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधि सम्बन्धमा सबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ भन्ने मान्यता रहेको छ ।
कार्यक्रम
पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला जनकपुर मधेशप्रदेशको सहयोगमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा सिमराका प्रमुख भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत चेतप्रसाद पोखरेल, सञ्चारकर्मी विदुर खड्का लगायत कर्मचारीको उपस्थिति रहेको थियो । प्रतीतकुमार राईको स्वागत रहेको कार्यक्रमको सञ्चालन मेनुका खनालले गर्नुभएको थियो ।