सिमरा, ६ माघः जीतपुरसिमरा उपमहानगरपालिकाले मातहतका विद्यालयहरुमा स्थानीय तह स्तरीय राष्टपति रनिगं शिल्ड प्रतियोगिता आयोजनाका गर्ने भएको छ । उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको संयोजकत्वमा आज शुक्रबार वसेको प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले राष्टपति रनिगं शिल्ड प्रतियोगिता विभिन्न विद्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले बजेट व्यवस्थापनका लागि संघीय सरकारको सशर्त अनुदान रकम एक लाख रुपियाँ र नगरको आन्तरिक स्रोतबाट १० लाख रुपियाँ गरी ११ लाख रुपियाँको लागतमा प्रतियोगिता सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले प्रतियोगितामा १८ वर्षभन्दा मुनीका कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको छ ।भलिवल, कबड्डी, एथलेटिक्स( दौड, उफ्रने, फ्याक्ने, हाइजम्प लगंजम्प, सर्टफुट), मार्सल आर्टतर्फ (सितेरियो कराँते, तेक्वान्दो,) फुटबल, क्रिकेट खेल आयोजना गरिनेछ । खेलका लागि नेरा मावि फत्तेपुरले सचिवालयको जिम्मा पाएको बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि लोटस एकेडेमी, एक्स सर्भिस मेन डुमरवाना, नेरा नमुना मावि बकुलिया, सिमरा रंगशाला, जनता मावि रजघट्टा, राष्ट्रिय विभूति शिक्षा सदन लगायतका विद्यालयको प्रांगण छनोट गरिएको बताइएको छ ।त्यस्तै प्रतियोगिता सञ्चालन गर्न आवश्यक कार्यक्रम र वजेट प्रस्ताव सहितको खाका पेश गर्न प्राविधिक समितिसमेत गठन भएको नगरपालिकाले जनाएको छ ।
खेल तालिकाको मिति पछि तोकिने बताइएको छ ।बैठकमा उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेल, शिक्षा शाखा अधिकृत हरिस भट्ट, सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि, खेल प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो