२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सर्पदेखि डर लाग्यो ? नआत्तिनुहोस् सर्प साथी होः विज्ञ

२०८० बैशाख २१, बिहिबार मा प्रकाशित ( साल अघि) ९१८ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ चैतः सर्प नाम सुन्ने वित्तिकै सबैको जिउ जिरिंग हुन्छ । नहोस पनि कसरी ? प्रत्येक वर्ष सयौँ मान्छेले सर्पको टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ । तर सर्प विज्ञहरु सर्प किसानको साथी हो भन्छन् । सर्पले अन्न बाली खान आउने मुसा, किरा फट्यांग्रा खाएर सहयोग गर्ने बताउँछन् । उनीहरुको सर्पलाई सुरक्षित रुपमा व्यवस्थापन गर्नुपर्ने भनाइ छ ।
वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी डिभिजन वन कार्यालय बाराले आयोजना गरेको पाँच दिने तालिमको चौथो दिन बिहिबार सर्पबारे जानकारी, सर्पको उद्धार, व्यवस्थापन तथा विष लाग्न नदिन गरिने उपायहरुका बारेमा जानकारी दिइएको थियो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष एवं सर्प विज्ञ देवनारायण मण्डलले उक्त विषयहरुका बारेमा तालिमका सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।

1683219292802

सर्पले किन टोक्छ ?
सर्पले मानिसलाई टोक्ने गरेको सर्पको कारणबाट नभएको विज्ञहरु बताउँछन् । मिथिला वाइल्ड लाइफका अध्यक्ष मण्डल पनि मानिसकै कारणबाट सर्पदंशको घटना हुने गरेको बताउनुहुन्छ । जब सर्पको मार्गमा कुनै मावले अवरोध उत्पन्न गराएपछि नै मानव र सर्पवीच द्वन्द्व उत्पन्न हुने हो ।
उहाँका अनुसार जव सर्पसँग मानिसको जम्काभेट भैेहालेपनि एकैचौटी सर्पले आक्रमण गर्दैन । मानिसलाई सुरुमा त्यसले भाग्नका लागि टाउको उठाएर संकेत गर्दछ । दोस्रोचोटी ठुंग्न खोजेजस्तो डराइदिन्छ र तेस्रोपटकमा मानिस नभागे अथवा सर्प आफैँ भाग्ने विकल्प नभएपछि मात्र मानिसलाई सर्पले डस्ने गर्दछ ।

सर्पबाट बच्न के गर्ने ?
घर वरपरको झाडी सफा राख्ने, राति टर्च बालेर हिँड्ने, झाडी भएको ठाउँमा लौरो टेकेर हिँड्ने, सर्प धेरै हुने ठाउँमा कम्तीमा ओछ्यान टक्टक्याउने, झुल लगाएर सुत्ने गर्नाले पनि सर्पबाट पनि बच्न सकिन्छ ।

सर्पको विष पनि औषधी
बायोलोजिकल, इकोलोजिकल, मेडिकल तथा अन्य विविध तरिकाबाट फाइदा पुग्ने विज्ञको भनाइ छ । उनीहरुका अनुसार सर्पबाट जैविक फाइदाको कुरा गर्दा यसले पारस्थितिक प्रणाली अर्थात इकोसिस्टममा सहयोग गर्छ । वातावरणलाई स्वस्थ राख्न यसले ठूलो भूमिका खेल्छ । सर्पहरू औषधीय गुणले पनि सम्पन्न हुन्छन तर यसका लागि मानिसहरूले मिहिनेत गर्नुपर्ने हुन्छ । धेरै सर्पहरूको विष औषधीका लागि प्रयोग गरिन्छ ।

1683220530212
सर्पले डस्यो भने त्यसलाई सन्चो बनाउन पनि प्रतिविषका रूपमा सर्पको विषलाई नै प्रयोग गरिन्छ । यस्तै मुटुरोग, रक्तचाप, क्यान्सरलगायतका रोगको उपचारका लागि बनाइएका थुप्रै औषधि सर्पबाट नै बनिरहेका छन् । क्यान्सरका लागि औषधि बनाउन यसबारे अध्ययन भइरहेको छ । रक्तञ्चारसँग सम्बन्धित औषधिहरू, पेनकिलर बनेको छ भने कोब्राबाट कोब्रोस्किन भन्ने औषधि बनेको विज्ञहरु बताउँछन् । यसबाट दुखाइ नियन्त्रण गर्ने औषधी बन्छ । औषधिका गुण भएका कारण सर्प लाभदायी छन् तर त्यसलाई उपयोग गर्न जान्नुपर्ने विज्ञको सुझाव छ ।

नेपालमा हरेक वर्ष कति सर्पदंश हुन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले सन् १९८७ मा अध्ययन गरेपछि औपचारिक रूपमा नेपालमा सर्पबारे अध्ययन अनुसन्धान भएको छैन । त्यो समय बर्सेनि नेपालमा कम्तीमा पनि २० हजारलाई सर्पले टोक्ने गरेको आँकडा आएको थियो । अहिले वार्षिक कति सर्पदंश हुन्छ, यसको आधिकारिक तथ्यांक छैन । तथापी मिथिला वाइल्ड लाइफका अध्यक्ष मण्डलका अनुसार वार्षिक सरदर नेपालमा ३ हजार सर्पदशंका घटना हुने गरेका छन् । त्यसमा मृत्युदर ० दशमलव ६ प्रतिशत रहेको छ । यसको पनि मुख्य कारण समयमा अस्पताल नपुर्याउनाले मृत्यु भएको मण्डलको भनाइ छ ।
नेपालमाा ८० देखि ८८ वटा प्रजातिका सर्पहरु पाइन्छिन् त्यसमध्ये १० वटा अति विषालु सर्प रहेका छन् । देशका २६ वटा जिल्ला सर्पदशंबाट बढी प्रभावित छन् । तराईका २२ वटा र अन्य ४ जिल्ला प्रभावित छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु