सिमरा, १२ असारः बारा जिल्ला फुटबल संघले दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० मा विजयी शुरुवात गरेको छ । सिमरा रंगशालामा सोमबार भएको उद्घाटन खेलमा पर्सा जिल्ला फुटबल संघलाई ट्राईबेकरमा पराजित गर्दै बाराले विजयी शुरुवात गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । रोमाञ्चक अनि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफअघि दबाबमा खेल खेलेको बाराले दोश्रो हाफपछि भने खेलमा सुधार गरेको थियो । पहिलो हाफअघिसम्म पर्साले राम्रो प्रर्दशन गरेको थियो । तर दोश्रो हाफको सुरुवाती समयदेखि नै बाराको सुधारिएको खेलले कुनै नतिजा निकाल्न दिएन् । ट्राईबेकरमा बाराले पर्सालाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अर्न्तगत बारा जिल्ला फुटबल संघका गोलरक्षक युनेश चौधरी म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभएको थियो ।
उद्घाटन सत्र
यसअघि प्रतियोगिताको मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशको खेल क्षेत्रको विकासमा विशेष योजना बनाईनुपर्ने बताउनुभयो ।
उहाले खेल क्षेत्रमार्फत समाजको विकास गर्न सकिने भन्दै समबद्ध सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो । फुटबल खेलले मधेश प्रदेशलाई चिनाएको भन्दै मिश्रले यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका मन्त्री महेश प्रसाद यादवले मधेशको खेल विकासमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाले मधेश प्रदेशको खेल र खेलाडीको विकास गर्न सरकार गंभिर रहेको समेत बताउनुभयो ।
बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको विकासमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सिमरा रंगशालाको पुर्वाधार विकासमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो ।अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले मधेश प्रदेशलाई खेलकुदले चिनाएको बताउनुभयो ।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य युवराज भट्राई समिर, मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका उप सचिव महेन्द्र महत्तो, ज्वाला दल गण बाराका प्रमुख सेनानी भुपेन्द्र गोदार, सेनानी दिपेश अर्याल, सशस्त्र प्रहरीका डिएसपी रबिन सिलवाल, जीतपुरसिमरा १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, २ का अध्यक्ष धन बहादुर श्रेष्ठ, ५ का अध्यक्ष दिपेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीको अध्इक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । सिमरा रंगशालामा शुरु भएको प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउनेछन् ।
प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संस्करण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संस्करणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।