साइबर अपराध नियन्त्रणमा मेयरसा’बको जाहेरी
राजमणि बराल
गत असोज २८ गते एकाएक जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुखले साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गरेको घटना सार्वजनिक भयो । स्थानीय सरकार प्रमुख आफैँ कतिपय कुराको नियमन गर्ने निकायका रुपमा रहेका हुन्छन् । नगर प्रमुखले नै एक सञ्चारकर्मीका विरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गरेको घटना अनलाइन समाचार र सामाजिक सञ्चालभरी छ्यास्छ्यास्ती भयो । यस घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरी निचोड त निकाल्ला तर यस विषयले भने जो कोहीलाई पनि सामाजिक सञ्चाल प्रयोग गर्नुअघि एक पटक सोच्न बाध्य बनाएको छ ।
नगर प्रमुख राजन पौडेलकै भाषामा भन्नुपर्दा सामाजिक सञ्जालको बढ्दो विकृतिले समाजमा गम्भीर खालका भ्रमहरु सिर्जना गर्ने भएकोले यस्ता विकृतिहरु आफूमा मात्र नभएर अन्य कसैमा पनि नहोस भन्ने उद्देश्यले जाहेरी दिएको मात्र हो । यस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी धेरैको चरित्र हत्या हुने गरेको र त्यसले समाजमा भयावह परिणाम निम्त्याउने हुँदा यसको नियन्त्रणका लागि पनि कानुनी मापदण्ड र मार्ग अप्नाउनु परेको हो ।
के हो साइबर अपराध
अहिले एक्काइसौँ शताब्दीको युग हो । यो समय विज्ञान, प्रविधि र सञ्चारको युग पनि हो । सञ्चारको बढ्दो प्रयोगले मानव जीवनलाई यति धेरै सहज बनाएको छ कि अधिकांश काम द्रुत गतिमा हुने गरेका छन् । सञ्चार प्रविधि र इन्टरनेटको प्रयोगले विश्वलाई एउटा गाउँ अर्थात एउटा समाज जस्तो बनाइदिएको छ तर सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै भएको दुरुपयोगले समाजमा थुप्रै असहजता पनि ल्याएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा राम्रा भन्दा नराम्रा कुराहरु बढी भाइरल भैरहेको देखिन्छ । यसले व्यक्तिको मर्यादामा आँच आउनुका साथै कहिले काँही गम्भीर प्रकृतिका आपराधिक घटना समेत हुन पुग्छन् । व्यक्तिगत संस्थागत, स्थानीय र राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत असर पर्ने गरेका छन् । कुनै पनि प्रविधि प्रयोग गरेर, कसैप्रतिु लक्ष्यित गरेर गरिने कुनै पनि प्रकाारका गैरकानुनी अनैतिक, असामाजिक कार्यहरुलाई साइबर अपराध भनिन्छ । व्यक्तिको इच्छा र अनुमतिबिना विभिन्न किसिमका सामग्री विद्युत्तीय माध्यम अर्थात सामाजिक सञ्चालमार्फत दुरुपयोग गर्दा यसले व्यक्तिको जीवन र चरित्रमा समेत गम्भीर समस्या सिर्जना हुनुको साथै कतिपय इमान्दार व्यक्तिलाई नैतिक रुपमा नै कमजोर बनाउँछ ।
नक्कली आइडी प्रयोग गर्ने, पासवर्ड चोर्ने, बेइज तगर्ने, बिना अनुमति अरुको सिर्जना चोर्ने, प्रयोग गर्ने, पोटोको दुरुपयोग गर्ने, चरित्र हत्या गर्ने, हिंसा फैलाउने, यौन जन्य हिंसा, अश्लील भिडियो पोस्ट गर्ने, मानहानी गर्ने, आवेशपूर्ण अभिव्यक्ति पोष्ट गर्ने, प्रतिलिपि अधिकार हनन् गर्ने, नक्कली आइडीबाट पैसा माग्ने, बैँकिंग अनलाइन, वेवसाइट ह्याक गर्ने, विद्युत्तीय उपकरण, नेटवर्कमा क्षति पुर्याउने जस्ता कार्यहरु साइबर अपराधभित्र पर्दछन् ।
उत्पन्न असर
साइबर अपराधले व्यक्ति समाजलाई मात्र नभएर सम्पूर्ण देश र विश्वमासमेत असर पार्छ । व्यकितमा नैराश्यता आउने, बेचनी हुने, तनाव उत्पन्न हुने आत्मबल कमजोर हुने, आत्महत्याकाक घटना बढ्ने, समाजका अपराधका घटना बढ्दै जाने, आतंक र्सिजना हुने, गोप्य सूचना चुहावट हुने, दुई देशवीचको सम्बन्ध विग्रनेजस्ता असर देखिन्छन् ।
कानुनी दण्ड सजाय
नेपालमाा साइबर अपराध नियन्त्रणका लागि विद्युत्तीय कारोबार ऐन २०६३ बनेको छ । यसै ऐनको बुँदा ४७ को उपदफा १ मा कानुनले विद्युत्तीय सञ्चार माध्यमबाट कसैको नैतिकता, शिष्टाचार विरुद्धका सामग्रीहरु, कसैप्रति घृणा, द्वेष फैलाउने उद्देश्यले प्रकाशन वा प्रदर्शन गरे दोषीलाई वै पाँच वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवना वा दुवै सजाय हुनेछ । त्यस्तै उपदफा २ मा कुनै व्यक्तिले उपदफा १ बमोजिमको कसुर पटक पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएकाो सजायको डेढी सजाय हुने उल्लेख छ ।
यसबाट कसरी बच्ने त?
सामाजिक सञ्जाल वा इन्टरनेटको प्रयोग गर्दा सावधानी अप्नाउने । साइबर अपराध गर्नेलाई दण्ड सजाय दिने । गलत नियतले राखेका सामग्रीलाई लाइक, कमेण्ट र सेयर नगर्ने, समाजमा अपराध फैलाउने सामग्री सम्प्रेषण नगर्ने । साथीभाइ, अभिभावक र जिम्मेवार व्यक्तिले सञ्चालको प्रयोगबाट हुन सक्ने राम्रा र नराम्रा पक्षहरुको बारेमा सिक्ने, सिकाउने, गलत गर्नेलाई सम्झाउने कार्यले साइबर अपराध नियन्त्रण गर्न सकिन्छ ।