२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

तारा बन्नू, तारा दिदी

२०८० कार्तिक ७, मंगलबार मा प्रकाशित ( महिना अघि) ६५३ पाठक संख्या

तारा बन्नू, तारा दिदी
सीता अधिकारी 
दिदी दिवङ्गत हुनुभएको तेह्रौं दिन भैसक्यो तर पनि श्रद्धाञ्जलि व्यक्त गर्न मनले मानिरहेकै छैन । मृत्यु त शाश्वत छ नि तर स्वीकार्न कति गाह्रो भएको । अरूलाई पर्दा सम्झाउन कति सजिलो आफूलाई पर्दा जीवन, जगत बुझ्नेले पनि मन बुझाउन सक्दैन नि,त्यस्तै भयो ।
मेरी ठुली दिदी अल्पायुमै तिमी देउताको घर गयौ । तिमी सरल थियौ, सबैकी प्रिय थियौ । दाजुदिदी, भाइबहिनी, छोराछोरी, नन्द आमाजू, ज्वाइँ भान्जी सबैकी प्रिय तिमी, भगवानकी पनि प्रिय बन्यौ ।
तिमी श्रममा विश्वास गर्ने, कर्म गर्ने, स्वाभिमानी थियौ र त त्यहाँ तिनलाई पनि यस्तै मान्छेको खाँचो हुँदो हो टपक्क टिपेर लगे । निष्ठुरे दैव!
तिमी ब्रम्हलिन हुने दिन विहान सायद साँढे आठतिर होला । छोरोको फोन आएको रहेछ म कक्षामा पढाउँदै थिएँ थाहा भएन । कक्षाबाट निस्किएर मिस्डकल रिप्लाई गरेँ ।छोरो पुरूषोतमले सानिमा ममीलाई गाह्रो भयो भनेपछि म हतार गरेर निस्किएँ । त्यसैबेला चितवनबाट दिदीले पनि फोन गरेर ल छिटो आइहाल म त निस्कन लागेँ, कतिखेर आउने भन्नुभो । म बसमा आउँदा झन् ढिला हुने भो, बेलुका रात पर्छ भनेर प्लेनको टिकट भनेँ । ११ बजेको रहेछ । बुद्ध एयर उडान खासै डिले हुँदैन भन्ने सोचेर त्यतातिर लागियो । दैव सञ्जोग नै हो त्यो, त्यही दिनभन्दा एयर ट्राफिकिङ र काठमाडौँको मौषम खराबी भन्दै डेढघण्टा प्लेन डिले भयो । एयरपोर्ट झरेर पठाओ चढेर कलङ्की आउन लाग्दा माइतीघर मण्डलामा स्थानीय कर्मचारीको आन्दोलनले सडक पूरै जाम पो रहेछ ।फेरि फर्केर खोलाको बाटो बल्खु निस्केर कलङ्की पुगेर गाडी चढियो । तिमीले हामीलाई छाडेर गयौ भन्ने कुरा दादाले भन्नुभयो । भाउन्न छुटिहाल्यो गाडीमै । यता बिनितालाई (बहिनीलाई )पख न त भनेकी थिएँ, मेरो कारणले उसले पनि भेट्न सकिन ।
छोराले फोन गरिरहँदा सबै माइतीपक्ष, घरपक्ष जुट्नै समय लाग्यो । त्यतिबेला तिमीलाई कति गाह्रो भयो होला म अनुमान नै गर्न सक्दिन । त्यसको प्रत्यक्ष भिनाजु, छोरा पुरूषोतम र बुहारी मनुका मात्र हो ।

तिम्रो विवाह हुँदा म सानै थिएँ । सायद चार वर्ष होला । माथि नेवारपानी गाउँमा हुँदै हो । तिमीसँग एकचोटी बेसी जाने बेलामा ( बेसीबाट गाउँ रित्तै हिँड्दा दुइघण्टा लाग्ने, भारी बोकेर तीन घण्टा लाग्ने) म पनि सँगै जान्छु भनेर झगडा गरेको याद छ । अर्को गोठालो जाँदा रानिश्वाराको ओसिलो पाखामा तिर्खा लाग्दा मुसेखरूमा परेको भोगटेको पात ( जंगलतिर हुने एक किसिमको बुट्यानको पात) लाई खोचिलो बनाएर झारेर घाँटी भिजाउन दिएको याद छ ।
जन्मघरमा हुँदा तिमीसँगको याद त्यति धेरै नभए पनि तिम्रो कर्मघर नुवाकोटको तारूका गाउँमा तिमीसँग केही समय विताउने मौका पाएँ । त्यतिबेला ११ वर्षको हुँदो हूँ । त्यतिबेला नै हो सबैसँग परिचित हुने अवसर जुरेको । ठुलो छोरो सुदर्शन जन्मिसकेको थियो । सानो छोरो पुरूषोतम सायद तिम्रो गर्भमा थियो जस्तो लाग्छ । स्पष्टवक्ता र इमान्दार, परिश्रमी भिनाजु(तिम्रा श्रीमान ), असल मार्गनिर्देशक आमा(सासूआमा), मायालु आमाजु, भान्जाभान्जी तिम्रा । आमाकै असल मार्गनिर्देशन, तिम्रो र भिनाजुको कठोर मिहिनेत, लगन र सङ्घर्ष हो अहिलेको ऐश्वर्यप्राप्ति । हामी सबैको शुभेच्छा र शुभकामना अनि ईश्वरको आशीर्वाद हो ।

आशीर्वाद कसरी भन्नू, गुनासो छ मलाई भगवानसँग । यत्रो सङ्घर्ष गर्न सिकाएर अहिले टपक्क टिप्नु हुन्छ त ? अलि वर्ष यस धर्तीमा वस्न दिएको भए के जान्थ्यो ? निष्ठुरे दैव । आत्माले शान्ति पाओस् दिदी । तारा बन्नु तारा दिदी ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु