२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

ऐतिहासिक ढुकुवाबासः पर्यटकीय संभावनाको गाउँ

२०८० माघ ६, शनिबार मा प्रकाशित (0 महिना अघि) ७४० पाठक संख्या

सीता अधिकारी
पुसको महिना । तराई शीतलहरले निछ्रुप्प भिजेको छ । विद्यालयमा तीन दिनका लागि जाडो विदा भयो । जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका सम्पूणर् शैक्षिक संस्थामा पालिकाले नै चिसो अत्यधिक बढेको भन्दै जाडो विदा दिन अनुरोध गरेको थियो । यसैअनुरुप अलिकति न्यानो खोज्दै हाम्रो टोली पहाड उक्लने निधो गर्‍यो ।
शीतलहर र बाक्लो हुस्सुका कारण घाम लागेको थिएन । सिमरा चोकमा जम्मा भएर ढुकुवाबास पदयात्रामा निस्कँदै थियौँ हामी । हामी अर्थात् भगवती लम्साल, सीता दाहाल, भवानी मल्ल, सावित्री सिंह, पूजा महतो, सर्तिमा गिरी र स्वयं यो पङ्तिकार । साथै पदयात्रा कस्तो हुँदो रहेछ भनेर छोरी राजश्री, छोरो ऋषभमणि मसँगै जाने भए । साथमा पूजा म्यामको छोरो शान्तनु र भवानी म्यामको छोरो कृश्चल पनि सहभागी भए ।

1705733832390
२०८० पुस २४ गते हामी यात्रामा निस्कियौँ ढुकुवाबास । बारा जिल्ला मधेश प्रदेशको पश्चिम भागमा पर्छ । बारा जिल्लाको उत्तरी भेगमा जीतपुरसिमरा रहेको छ भने यसैको वडा नं २२ मा ढुकुवाबास पर्दछ । साविक अमलेखगञ्ज गाविसमा रहेको ढुकुवाबास अहिले उपमहानगरपालिका अन्तरगत रहेको छ ।
‘ढुकुवा’ शब्द ‘ढुक’ धातुमा ‘उवा’ प्रत्यय लागेर बनेको छ । ढुकुवाको अर्थ हुन्छ ढुक्ने अथवा ढुक्ने काम गर्ने । ‘ढुकुवाबास’ ‘ढुकुवा’ र ‘बास’ मिलेर बनेको शब्द हो । यसले ढुकेर बस्ने भन्ने अर्थ दिन्छ । पर्यटन अभियन्ता मोहन शर्मा लामिछाने चुरेको सबैभन्दा अग्लो पहाडको रूपमा ढुकुवाबास डाँडोलाई लिइने बताउँछन् । यस डाँडोबाट नियालेर हेर्दा छिमेकी देश अर्थात् सीमापारी भारतको रक्सौल बजारसमेत देख्न सकिन्छ ।
श्रुति परमपराअनुसार चारकोसे झाडीको वीचमा रहेको जंगल क्षेत्रमा उहिलेका राजा महाराजाहरू शिकारका लागि जनावरलाई ढुकेर बस्ने गर्दथे यसले गर्दा पनि त्यो ठाउँको नाम ढुकुवावास रहन गएको हो । इतिहासलाई हेर्ने हो भने नेपाल र अंग्रेज वीचको युद्धमा अंग्रेजहरूलाई परास्त गर्न यहीँ गौँडो ढुकेर नेपालीहरूले ढुंगा बर्साउँदै अंग्रेजलाई धपाएका थिए । यसकारण पनि यो ठाउँको नाम ढुकुवाबास रहेको भन्ने भनाइ छ ।

ढुकुवावासको ऐतिहासिकता
मकवानपुरका राजा हेमकणर् सेनको मृत्युपश्चात दिग्बन्धन सेन वि सं १८१६मा मकवानपुर राज्यको राजा भए । गोरखाका राजा पृथ्वीनारायण शाह दिग्बन्धन सेनका आफ्नै बहिनी ज्वाइँ थिए । पृथ्वी नारायणशाह र दिग्बन्धन सेनको सम्बन्ध चिसिएको थियो । वि. सं १८१९ मा गोर्खालीहरुले अकस्मात नै आक्रमण गरिदिए । आक्रमणबाट पराजित भै दिगबन्धनसेन मन्त्री कनकसि.ह बानियाँसहित सपरिवार भागेर हरिहरपुरगढीमा लुक्न पुगे । राजा दिग्बन्धनसेन र मन्त्री कनकसिं बानियाले बंगालका तत्कालिन शासक मिराकासिमसँग सहयोग मागे । मिरकासिमले तुरुन्त २ हजार जति फौजलाई गुरगिन खाँको कमाण्डमा मकवानपुरको सहयोगका लागि पठाए । गोर्खाली सेना एक महिनादेखि ढुकुवाबासमा आफ्नो क्याम्प खडा गरेर बसेका थिए । रक्सौलसम्मको गतिविधि देखिने हुनाले विदेशी फौजलाई परास्त गर्न सजिलो हुनेदेखि उनीहरु तयहाँ बसेका थिए । गोर्खाली सेनाले बंगाली सेनामाथि एक्कासी आक्रमण गरिदिँदा बंगाली सेनाको हार भएको बताइएको छ ।

यस्तै ऐतिहासिक अर्को विवरणमा भनिएको छः नेपाल अंग्रेज युद्धमा भीमसेन थापाका कान्छा भाइ रणवीर सिंह थापालाई पर्सा मकवानपुरको युद्धको जिम्मेवारी सुम्पिएको थियो । अंग्रेज सेनापति बेनेट मार्लेले काठमाडौँ उपत्यका विजय गर्ने उद्देश्यले आफ्ना सेनालार्ई तीन समूहमा विभाजन गरी आक्रमणको तयारी गरिरहेका थिए । यो सूचना थाहा पाएर रणवीर सिंहले आफ्नो फौजलाई समसेर राणा र सर्वजित थापाको नेतृत्वमा पर्सामा अंग्रेजमाथि आक्रमण गर्न पठाएको भनाइ छ । यसै सिलसिलामा नेपाली फौज अंग्रेजहरुलाई कुरेर बसेका थिए । नेपाली फौजसँगको युद्धमा अंग्रेजको भागाभाग भयो भन्ने जानकारहरु बताउँछन् ।

केही स्थानीयहरू सडक बाटो निर्माण भएसँगै व्यापार व्यवसायका लागि यात्रु तथा ग्राहक पर्खेर बस्न थाले । यसै पर्खाइको बास अहिले ३ नं पुल पूर्व पश्चिम महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको चर्चित स्थानको रूपमा कहलिएको छ । ३ नं पुलको ढिँडो र लोकल कुखुराको मासु खानका लागि यो राजमार्ग भएर हिँड्ने प्रायःजसोले बिर्सिँदैनन् ।
यही ३ नं पुलबाट सुरु हुन्छ ढुकुवाबास जाने गाउँ । राजमार्गबाट २ किलोमिटर उकालो चढेपछि पुगिन्छ । जम्माजम्मी एक सय २३ घरधुरी रहेको यो गाउँ पर्यटकीय दृष्टिले महत्वपूणर् रहेको छ । गाउँमा विजुली बत्ती पुगेको छ । ठाउँ ठाउँमा सडक ढलान गरिएका छन् । तल ३ नम्बर पुल निरको कुवाबाट गाउँलेले पानी बोकेरै माथि पुर्‍याउने गर्थे । अहिले त्यो समस्या समाधान भएको छ । मधेस प्रदेश सरकार अन्तरगतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको लगानीमा खानेपानीको संरचना बनेसँगै युनिसेफ नेपालको केही आर्थिक एवं प्राविधिक सहयोगमा घरघरै धारा निर्माण भए । अमलेखगञ्ज ८ लिफ्ट ३ पुल खानेपानी आयोजनामर्फत बाघ लुक्ने खोल्सीको पानी तल लगेर ट्याँकीमा जम्मा गरी फेरि लिफ्टमार्फत गाउँका प्रत्येक घर घरमा पानी पुर्‍याइएको छ ।
कृषिका दृष्टिले हेर्दा मुख्य बाली कोदो, मकै, तोरी र आलु फल्ने गर्दछ । गाउँलेको मुख्य आम्दानीको स्रोत ज्याला मजदुरी नै देखिन्छ । गाउँका मानिसहरू दाउरा बेचेर गुजारा गर्ने गर्दछन् । विशेष गरी सामुदायिक वनले शनिबार र मंगलबार वन खोल्ने गर्दछ भने ढला पडा दाउराहरू खोजेर गाउँबासीले आम्दानीको स्रोत बनाएका छन् । स्थानीय सरकारले अलिकति ध्यान पुर्‍याउने हो भने बाख्रापालन तथा कुखुरा पालन पनि गाउँलेका लागि उपयुक्त पेसा हुन सक्दछ । आर्थिक रूपमा सम्पन्न बनाउन निगालो वाँस लगाएर चोयाको डोको, डालो, नाङ्लो बुन्ने सिप सिकाएर उद्यमतिर आकर्षित पनि गर्न सकिन्छ ।

1705733625544
गाउँमा एउटा विद्यालय सूर्योदय आधारभूत विद्यालय छ । जहाँ कक्षा ५ सम्म पढाइ हुने गर्दछ । त्यहाँका बालबालिका त्योभन्दा माथिको शिक्षा लिनको लागि २ नम्बर पुल अर्थात बिरेदमारको थानी विद्यालय र नेरामावि अमलेखगञ्ज धाउनुपर्ने बाध्यता छ । हामी गाउँमा पुग्दा केही छात्रछात्रा हतार हतार उकालो चढ्दै थिए । २ नं पुल( पुल नजिकैको थानी आधारभूत विद्यालय) मा कोचिंग पढेर आएको भन्दैथिए ।

1705733586302
धार्मिक आस्थाका दृष्टिले ढुकुवाबास गाउँमा हिन्दु र बौद्ध धर्मालम्बी नै बढी देख्निछन् । गाउँमा आफ्नो जाती परम्परा अनुसार माने, थाङ्का देख्न सकिन्छ भने अलिक माथि डाँडामा एउटा स्थानीमाई मन्दिर रहेको छ । जहाँ देवीको पूजा हुने गर्दछ र बली पनि चढाउने गरिएको देखिन्छ । साथै शिवको मन्दिर पनि सँगै देखिन्छ । उकालो चढ्दै गर्दा एउटा जामुनको ठूलो रुखमुनि बसेर अनदीको चामलको लट्टे, गुन्द्रुकको अचार, चनाकेराउको तरकारी, पुरी, दालमोठ, चाकु, लप्सीको अचार खायौँ र एकछिन नाच्यौँ र ३ नम्बर पुलतिर फर्कियौँ ।

1705733788729
पदमार्गका रूपमा विकास गर्ने हो भने ढुकुवाबास पर्यटकीय संभावना बोकेको एउटा गाउँ हो । शिक्षाका साथसाथै स्वास्थ्य र सरसफाइमा नितान्त ध्यान दिन जरुरी देखिन्छ उद्यमतिर गाउँका युवालाई आकर्षित गर्ने हो भने ढुकुवाबास गाउँको आर्थिक र साँस्कृतिक रुपान्तरणमा समय लाग्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु