आदरणीय मेयरसा’ब
नमस्कार ।
बुधबार बिहान १० बजेर १० मिनेटमा मेरो ह्वाट्सएपमा एउटा इमेज आइपुग्यो जीतपुरसिमरा उपमहानगरपालिकाको २०८० सालको कक्षा ८ को परीक्षाको नतीजा । सरसर्ती नतीजा अध्ययन गरेँ । आँखाबाट आँसु आयो । मन धेरै रोयो । खै किन मलाई यस्तो भयो ।
म को हुँ र ? नगरको समग्र नतीजा देखेर रुनुपर्ने । एउटा स्कुलको नेपाली विषयको सामान्य शिक्षक मात्र । हुन पनि हो, हुटिट्याउँले आकाश थामेर थामिन्छ र ? मेरो मन रोएर के हुन्छ ? एक मनले यसै भन्यो ।
अर्को मनले भन्यो, म यो समाजकै नागरिक हुँ नि । यो समाजका इञ्जिनियर, डाक्टर, लेखक पत्रकार, कलाकार , वकिल, अनुसन्धानकर्ता, वैज्ञानिक, नेता आदि बन्न सक्षमता राख्ने नगरभरिका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइको स्तर किन यतिविधि खस्केको होला ? यसमा एक जिम्मेवार नागरिकले चासो नलिए कसले लिन्छ ? यस्तै यस्तै ………..।
मेयरसा’ब शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्छु भनेर दिनरात नभनी लागिरहनु भएको छ । यसमा उपमेयरसा’ब, नगरका सम्पूणर् कर्मचारीले तपाइँलाई साथ दिएको देखिन्छ । साथै समाजका भद्रभलाद्मी, तथा युवा वर्गको उत्तिकै सहयोग मिलेको अनुभूति मैले गरेकी छु ।
तर पनि विद्यालयले शून्य नतीजा ल्याएका छन् । त्यो पनि सुगम ठाउँका विद्यालयहरू । राजमार्गबाट टाढा नभएका विद्यालयहरू । जहाँ व्यवस्थापन समिति र विद्यालयको प्रशासकीय नेतृत्व समाजकै आशालाग्दा अनुहारहरुले गरिरहेका छन् । स्थानीय तहले विद्यालयलाई शैक्षिक सुधारका नाममा खर्च गरेको रकम शुन्य नतीजामा परिणत हुनु दुखद् कुरा हो ।
मेयर तथा उपमेयर सा’ब विद्यालयले शुन्य नतीजा ल्याउनुमा विविध कारणहरू छन् । विद्यार्थीले सिकाइमा चासो नदिएर होइन विद्यालयमा उपलब्ध भएका दक्ष जनशक्तिलाई उचित व्यवस्थापन गर्न नसक्दा पनि विद्यालयले शुन्य नतीजा ल्याउन बाध्य भएको छ ।
सामुदायिक विद्यालयमा विषयगत दरवन्दी अभाव त छँदै छ । एउटा विद्यालयमा हाजिर भएर दुई घण्टी पढाउने र अर्को विद्यालयमा चार घण्टी पढाउन पुग्नुपर्ने शिक्षकको बाध्यता छ । नजिककै वल्लो पल्लो गाउँ होइन , कम्तिमा १० किमि हिड्नुपर्छ ती शिक्षकलाई । तपाइँहरू शिक्षामा सुधार गर्छु भनिरहँदा ती विद्यालयको नतीजामा कसरी सुधार हुन्छ मेयरसा’ब ?
जनप्रतिनिधिकै प्रत्यक्ष नेतृत्व र वडाले सामुदायिक विद्यालयलाई एकमुष्ट लगानी गरिरहेका छन् । शिक्षा निशुल्क भनिएको छ । खाजाको सुविधा पनि दिइएको छ । तैपनि समाजका उच्च वर्गका आकर्षण सामुदायिक विद्यालय हुन नसक्नु पनि दुर्भाग्य हो ।
सुविधा सम्पन्न र पर्याप्त दरबन्दी भएका विद्यालयको नतीजा र उपमहानगरकै भौतिक पूर्वाधार कमजोर र दरबन्दी अभाव भएका विद्यालयको नतीजालाई एउटै तुलोमा राखेर जोखिनु कति सान्दर्भिक होला ?
कक्षाकोठाको नियन्त्रित वातावरणमा परम्परागत तरिकाले शिक्षण गरिरहँदा आजको प्रविधियुक्त समयमा आधुनिक शिक्षण विधि अप्नाएर पढाउनका लागि शिक्षकहरूलाई आवश्यकता अनुसारको तालिम तथा प्रशिक्षणको व्यवस्था नहुनु पनि समस्या नै रहेको देखिन्छ ।
उचित शैक्षिक सामग्री र योजनाद्ध शिक्षणको लागि प्रशासकीय नेतृत्वको पनि दुरदर्शी मार्गदर्शनको भूमिका महत्वपूणर् हुन्छ । कतै ती क्षमताहरु स्फुरण नभई विलीन भैरहेका छन कि, यसतर्फ पनि सचेतता अप्नाउनु जरुरी छ कि भन्ने मेरो निजी धारणा हो किनकी तपाइँ आफैँ जानकार, समझदार हुनुहुन्छ ।
शून्य मात्र होइन, जम्मा विद्यार्थीमा एक, दुई, तीन, पाँच, जना विद्यार्थी उत्तीणर् हुनु मन रुवाउने नतीजा हो । यस्तो नतीजाले पक्कै पनि तपाइँको पनि मन पोलेको होला भन्ने मैले महसुस गरेकी छु । मन पोलाएर होइन रणनीति बनाएर अघि बढ्नु नै सान्दर्भिक हुन्छ ।
सीता अधिकारी
श्री फकिरा गिरी राजेश्वर गिरी मावि
जीतपुरसिमरा-७, बारा