सयपत्री समाचारदाता
सिमरा, १४ बैशाखः आउँदो आर्थिक वर्षको साउनदेखि यातायात व्यवसायीहरुका लागि पथलैयाबाट पनि रुटपर्मिटको व्यवस्था हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार बाराको सिमरामा तराई यातायात व्यवसायी संघको १७ औं वार्षिकसभामा व्यवसायीलाई आगामी साउनदेखि पथलैयाबाटै रुटपर्मिटको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको हो ।
मुख्यमन्त्री यादवले यातायात ब्यवसायीका सतप्रतिशत समस्या समाधान गर्न आफू तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यातायात व्यवसायीसँग समन्वय गरी कानुन बनाउन पहल गर्ने जिकिर गर्नुभयो । सवारी नविकरण, सवारी जाँच, कर दाखिलाका क्रममा झेल्नुपरेकाा समस्यालाई समाधान गर्ने मुख्यमन्त्रीको भनाइ थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रदेश मार्फत नहुने र संघीय कानुनमै परिमार्ज गर्नुपर्ने विषयमा आफुहरुले संसदमा कुरा उठाउने धारणा व्यक्त गर्नुभयो ।
यस्तै अर्का संघीय सांसद अच्युत मैनालीले विशेषगरी टर्क पार्किङ्गको समस्या समाधान जरुरी रहेको भन्दै सोको लागि आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल ट्रक यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, मन्जु थापा मगरलगायतले मन्तव्य राख्नुभएको थियो
कार्यक्रममा तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी प्रकाश लम्साल साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तराई यातायातमा आवद्ध देशैभरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षता एवं संचारकर्मी सुनिल गाउँलेको सञ्चालनमा सम्पन्न भएको थियो ।