सयपत्री समाचारदाता
सिमरा, ४ असोजः जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधीका लागि सिमरा र काठमाडौं भिड्ने भएका छन् ।
सिमरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक टोली सिमरा भेट्रान क्लब र सरस्वती नगर भेट्रान क्लब काठमाडौंले उपाधी भिडन्त पक्का गरेका हुन् ।
सिमराले पहिलो सेमिफाइनल खेलमा पाहुना टोली क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २-० ले पराजित गरेको हो । आयोजकको जीतमा दुवै गोल रमेश गुरुङले गरेका हुन् । रमेश खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा सरस्वती नगर भेट्रान काठमाडौंले पोखराको ए.बि.सी. भेट्रान क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको हो । काठमाडौंका लागि अनल आचार्य, जगत लामा, महेन्द्र खवास र देवराज नेपालीले गोल गरे । सरोज थापाको प्रहार क्रसबारबाट बाहिरियो ।
पोखराका लागि भने संजयकुमार गुरुङ र विश्वलाल श्रेष्ठ मात्रै गोल गर्न सफल भए । विकणर् श्रेष्ठ र निलेन्द्र देवानको प्रहार काठमाडौंका गोलरक्षक शम्भु श्रेष्ठले उत्कृष्ट बचाउ गरे । श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल शनिबार ४ बजे सिमरा रंगशालामा सुरु हुनेछ । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।