सयपत्री समाचारदाता
सिमरा, ७ फागुनः ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराका साथ वी लभ यू फाउन्डेसनद्वारा बाराको जीतपुरसिमरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । मधेस प्रदेशको जीतपुरसिमरामा रहेको एभरग्रीन तराई सिमरा अस्पतालको सभाहलमा एक सय ५९ जनाले रक्तदान गरेका थिए ।
अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’मा सहभागी हुन बीरगञ्ज, मकवानपुरको हेटौडा, बस्तीपुर, रौतहटको चपुर, सर्लाहीको हरिवन, महोत्तरीको बर्दिबास र सिन्धुलीका विभिन्न ठाउँबाट आएका वी लभ यूका सदस्यहरू, उनीहरूको परिवारहरू र छिमेकीहरू आएका थिए । कार्यक्रममा प्रमुख आतिथ्यता गर्नुभएका जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले रक्त अभाव भइरहेको वर्तमान समयमा यस्ता संस्थाहरुले मानव सेवाका लागि कल्याणकारी काम गरिहेको धारणा व्यक्त गर्नुभयो ।
संस्थाका एक अधिकारीले अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान भएकोले यस्ता कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू सहभागी भएको बताएका थिए । उनले रक्तदानले रगत अभावका कारण मृत्युको मुखमा परेका मानिसहरूको जीवन बचाउने कार्य र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गरेको धारणा राखेका थिए ।
कार्यक्रममा जीतपुर उपमहानगरपालिका वडा नं २का वडाध्यक्ष धन बहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुभद्रा लामा, स्थानीय अस्पतालका डाक्टरहरू साथै वी लभ यूका ३ सय सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसअघि वी लभ यूले सातै प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगंज, जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरिसकेको बताइएको छ । सन् २००४मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो । अहिलेसम्म ६४ वटा देशहरूबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् ।यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको छ ।
सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड–१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ । यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ ।
बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गरेको छ ।
संस्थाले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान(ःयm ’ क न्बचमभल)’ प्रोजेक्टमार्फत वृक्षारोपण पनि गर्ने गरेको बताइएको थियो ।