सयपत्री समाचारदाता
सिमरा, २३ फागुनः बारामा उत्कृष्ट कार्य गर्दै आएको सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबारदेखि दुई दिने स्तन तथा पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालनमा छ । बाराको जीतपुरसिमरा २ स्थित सहकारी संस्थाको कार्यालयमा शुक्रबार विहान शिविरको उद्घाटन गरिएकोे हो ।
स्त्री रोग विशेषज्ञ डा. सौजन्य कर्माचार्यको नेतृत्वमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलबाट आएको चिकित्सकको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।शिविर शनिबार विहान ११ बजेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।
शिविरमा चिकित्सकले महिलाको स्तन तथा पाठेघरको मुखमा समस्या रहे नरहेको परीक्षण गर्नुका साथै समस्या देखिएका महिलालाई आवश्यक उपचारका लागि परामर्श र सुझाव दिनेछन् । शिविरमा परीक्षण गर्नका लागि सेयर सदस्यलाई ३ सय ५० र अन्यलाई चार सय शुल्क राखिएको छ ।
कार्यक्रमको उद्घाटन
११५ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गर्नुभएको थियो । संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेशनल क्यान्सर अस्पताल काठमाडौँका डा. सौजन्य कर्मचार्य, साकोसका उपाध्यक्ष भिमाादेवी शर्मा, संस्थाका पूर्व अध्यक्ष अनिता लम्साललगायत संस्थाका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाकी सचिव गीता शर्माले गर्नुभएको थियो ।