सयपत्री समाचारदाता
सिमरा, २२ चैतः बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा हानामी बिएफसी भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भरतपुरको जीतमा विशाल योञ्जन र राज भुषालले गोल गरेका थिए । सिरहाका लागि सुशील राईले गोल गरे पनि टिमले अग्रता लिन सकेन ।
पहिलो हाफ गोलरहित बनेको प्रतिष्पर्धात्मक खेलको ६० औं मिनटमा भरतपुरले अग्रता लिएको थियो । खेलको ७९ औं मिनटमा सुशीलले गोल गर्दै सिरहालाई खेलमा फर्काएका थिए ।
अन्तिम समयमा सम्हालिन नसकेको सिरहाविरुद्ध निर्णायक गोल गर्दै भरतपुरले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको ८५ औं मिनटमा राजले निर्णायक गोल गरे । निर्णायक गोल गरेका राज ग्रीन इनर्जी प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ट्रफि हस्तान्तरण गर्नुभएको हो ।
शनिवार आयोजक नवजनजागृति युवा क्लब सिमरा र हेटौंडाको एन्फा मकवानपुरका बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा ८ टोली सहभागी छन् ।
उद्घाटन कार्यक्र्रम
जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको शुक्रबार उद्घाटन भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव शम्भुसिंह ठकुरीको स्वागत मन्तव्य रहेको थियो ।
टिकटमा उपहार
यसपटक टिकट काटेर खेल हेर्ने दर्शकले उपहार नै उपहार पाउने भएका छन् । टिकट काटेका दर्शकमध्ये एक जनालाई गोलाप्रथाबाट सुरक्षा मोबाइलको तर्फबाट स्मार्ट घडी, हिमालयन कफि शपको तर्फबाट दुई हजार बराबरको नाङ्लो प्लाटर, ग्रेस इन्टरनेशनलको तर्फबाट छाता, ब्याग प्रदान गरिनेछ ।
यसैगरी ए.के. सप्लायर्सले दुई जना दर्शकलाई सिसिटिभी क्यामरा प्रदान गर्नेछ ।