सयपत्री समाचारदता
सिमरा, २५ चैतः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न केन्द्र सरकारसँग माग गरेको छ । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा आन्दोलनका सम्बन्धमा आवश्यक सम्बोधन गरिदिन माग गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पत्र लेख्दै संबिधान सम्मत मागहरु पूरा गर्न अनुरोध गरिएको छ । शिक्षक आन्दोलनबाट उपमहानगरपालिकामा २०८२ सालको नयाँ भर्ना अभियानलगायत पालिकाको शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको भन्दै शिक्षकको संबिधानसम्मत माग तत्काल सम्बोधन गर्न पत्रमा आग्रह गरिएको छ ।
शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलनमा छन् । उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन् ।