२०८२ श्रावण १९, आईतबार
नयाँ
पछिला अपडेट

सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुने, सबै उत्साहित

२०८२ श्रावण १८, शनिबार मा प्रकाशित ( घण्टा अघि) १४१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,१७ साउनः फुटबलका क्षेत्रमा विशेष पहिचान बनाउँदै आएको सिमरा भेट्रान क्लब सिमराले पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले सिमरालगायत सिंगो समाजलाई उत्साहित बनाएको छ ।

क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गरााउँदै आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुन लागेको बताइएको थियो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता रहनेछ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गरेको हो । यस कार्यक्रमको नारा नै लैगिंक समानताको प्रवद्र्धन र एकाग्रता,खेलकुद क्षेत्रमा दिनुपर्छ महिलाहरुलाई दिनुपर्छ नेतृत्वको अग्रसरता भन्ने राखेको छ ।
क्लब अध्यक्ष राजकपुर राउत तथा सचिव हरि चौधरीले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको र यस्ता कायृक्रमले अझै ऊर्जा थप्ने उहाँको धारणा थियो ।

त्यस्तै नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि ऐतिहासिक भएको उल्लेख गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सिमरामा सन् २०६५ सालमा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ मा एन्फाको आयोजनामा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता राष्ट्रिय महिला फुटबल सिमरामा आयोजना नभएको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले लगायतले प्रतियोगिताले जीतपुरसिमरा क्षेत्रमै फुटबलको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गनुृभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु