सयपत्री समाचारदाता
सिमरा, १९ भदौ: यही भदौ २१ गतेबाट सुरु हुन लागेको नेपोभिट जीतपुरसिमरा अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८२को सम्पूर्ण तयारी पूरा भएको छ । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा हुने प्रतियोगिता तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएका हुन् ।
क्लबको आयोजनामा पहिलोपटक रात्रीकालिन समयमा फ्लड लाइटमा अन्तरराष्ट्रिय स्तरको महिला फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएका छन् । मुख्य प्रायोजक नेपोभिट टायल्स, नेपाल सेरामिक इन्ड्रस्ट्री प्रालि र मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका साथै दर्जनौ संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजक कल्ब सिमरा भेट्रानका हरि चौधरीले बताउनुभयो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब, सिमरा गरी ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
क्लबका अध्यक्ष राजकपुर राउतले चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटक महिला फुटबल प्रतियोगिता सुरु गरेको बताउँदै कार्यक्रमलाइृ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा क्लबका सल्लाहकार विनोद परियार, नेपोभिटका सञ्जय पटेल, फुटवल प्रशिक्षक प्रकाश भट्टलगायतको उपस्थिति रहेको थियो ।