
सयपत्री समाचरदाता
सिमरा, ३ पुसः २६औँ अन्तरराष्ट्रिय आप्रवासी दिवसको अवसरमा आप्रवासी हकहित सञ्जाल बाराले बिहीबार बारा जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम गरी दिवस मनाएको छ । “श्रम आप्रवासन चक्रमा सुशासन, सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन”भन्ने नाराका साथ वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा पीडित आप्रवासी श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा आप्रवासी हकहित सञ्जाल बाराका अध्यक्ष रुद्रप्रसाद खतिवडाले श्रम आप्रवासन चक्रका हरेक चरणमा सुशासन आवश्यक रहेको बताउनुभयो । उहाँले “सूचना, सीप, सुरक्षित प्रक्रिया र श्रमिकमैत्री नीति बिना आप्रवासनले जोखिम मात्र बढाउने भएकाले राज्यले श्रमिकलाई केन्द्रमा राखेर नीतिगत सुधार गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नगर अध्यक्ष नवराज घिमिरेले सुरक्षित र मर्यादित आप्रवासन सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । त्यसैगरी नगर सचिव पुष्कर चापागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी, शोषण र दुर्घटनाबाट जोगिन सचेत हुनुपर्नेमा जोड दिँदै सुरक्षित आप्रवासनका लागि समुदायस्तरमै निरन्तर अभियान आवश्यक रहेको बताउनुभयो ।
यस्तै जिल्ला कोषाध्यक्ष सबिता तिवारीले महिलासहित सबै श्रमिकका हक अधिकार सुनिश्चित गर्न सञ्जाल निरन्तर क्रियाशील रहने बताउनुभयो । कार्यक्रममा आप्रवासी श्रमिक सञ्जाल मधेश प्रदेशका महासचिव शंकर सिम्खडाले श्रम आप्रवासनलाई केवल रोजगारीको माध्यम मात्र नभई सम्मानजनक जीवनसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले सीपयुक्त आप्रवासन, वैधानिक प्रक्रिया र गन्तव्य मुलुकमा श्रमिकको अधिकार सुनिश्चित भए मात्र आप्रवासन सुरक्षित र मर्यादित हुने उल्लेख गर्नुभयो ।
दीप प्रज्वलन कार्यक्रममा स्थानीय सामाजिक अगुवा, मानव अधिकारकर्मी, आप्रवासी श्रमिक तथा तिनका परिवारजनको उल्लेखनीय सहभागिता रहेको थियो।