२०८२ पौष २३, बुधबार
नयाँ
पछिला अपडेट

लोकतन्त्रको यात्रा निलो क्रान्तिसम्म आइपुग्दा………..

२०८२ पौष २१, सोमबार मा प्रकाशित ( दिन अघि) २०० पाठक संख्या

राजमणि बराल
जेन्जी आन्दोलन भएको ४८घण्टा नबित्दै नेपालका पहिलो र दोस्रो पार्टी नेपाली काङ्ग्रेस र एमालेको करिब दुई तिहाइ नजिकको अबैध गठजोडको शक्तिशाली सरकार ढलेसँगै नेपालको राजनीति एकाएक गम्भीर मोडमा पुग्यो । कलिला युवाहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो। दृश्यमा जेन्जी सैनिक र राष्ट्रपतिको कसरतमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मुलुकमा दलविहीन सरकार बन्यो । सरकार बनेसँगै तत्कालै सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गर्यो । सोहीअनुरुप जलेको नेपाल क्रमशः लयमा आउन थाल्यो तर नेपालको भूराजनीतिक अवस्था र दलहरुको बिचमा तीव्र धुर्र्वीकरण हुदै गएको देखिन्छ । लोकतन्त्रमा राजनीतिक चेतनाको विकास, राजनीतिक खबरदारी सुन्दर पक्षहो । नेपालले धेरै राजनीतिक परिवर्तनको लागि आन्दोलन गर्यो । धेरै पटक संविधान जारी भयो, राणा, पञ्चायत, राजासहितको प्रजातन्त्र र पछिल्लो समय जनताको छोरा प्रधानमन्त्री र राष्ट्रपति हुने गणतान्त्रिक लोकतन्त्रको अभ्यास भयो । तर नेपालमा स्थिर राजनीति र शासन हुन सकेन अब कस्तो परिवर्तन चाहन्छ नेपाली र कस्तो नेतृत्व चाहन्छन् जनता ? यो प्रश्नको उत्तर खोज्ने अवस्थामा नेपालको राजनीति पुगेको छ । लोकतन्त्र आएसँगै मुलुकमा तीन तहका सरकार छन । जनताको घरघरमा सेवा सुविधा पुग्ने व्यवस्था हो संघीय लोकतन्त्र तर यो व्यवस्था असफल हुने अवस्थामा नेपाल पुगेको छ । राजनीतिक परिवर्तनले धेरै जनतामा राजनीति चेतनाको विकास भयो तर नेतृत्वमा अनुशासन कानुनको पालना नहुँदा नेपालको राजनीति दिनप्रतिदिन कमजोर हुदै गएको छ । स्थिर शासन व्यवस्था नचाहाने जसरी हुन्छ सत्तामा पुग्न गलत अभ्यास प्रयोग गर्ने, राजनीति शक्ति आर्जनकोलागि विदेशी शक्ति राष्ट्रसग अस्वभाविक सम्बन राख्ने, चरम राजनीति विकृति र विसंगतिहरु अवलम्बन गर्ने परिपाटी बढ्दै जाँदा लोकतन्त्र नै कमजोर बनेको छ । युवाहरुमा बढ्दै गएको राजनीतिक चेतना र पुराना नेतृत्वले न त राजनीतिक स्थिरता कायम गर्न सकेका छन न त सुशासन दिन सकेका छन नत पुस्तान्तरण गर्न चाहन्छन् । लोकतन्त्र मुलुकमा त्यतिबेला सर्वोतम व्यवस्था बन्छ जहाँ हाम्रोलाई भन्दा राम्रोलाई अवसर दिइन्छ र पुस्तान्तरणको अभ्यास हुन्छ । त्यो अभ्यास नेपालमा हराउँदै गएको छ । अहिले नेपालको राजनीतिमा हजुरबुबाको पालादेखि पनातिसम्मको पालामा आइपुग्दा समेत एउटै अनुहारको नेतृत्वलाई मान्नुपर्ने व्यवस्था कसरी लोकतान्त्रिक हुन्छ ?
भाषणमा लोकतन्त्र र व्यवहारमा अलोकतान्त्रिक गतिविधि बढ्दै जाँदा केन्द्रदेखि स्थानीय तहसम्म राम्रो हैन हाम्रो हुनुपर्छ र मबाहेक अरुले नेतृत्व गर्नु हुदैन भन्ने तप्काका नेताहरु बढ्दै जानू सत्ता प्राप्तिका लागि घिनलाग्दो शक्ति अभ्यास गर्नु, पुस्तान्तरणको अभ्यास अरुले गर्नुपर्छ तर मेरो हकमा चाहिँ लागू हुनुहुँदैन भन्ने प्रवृत्ति नेपाली जनतामा र नेतृत्वमा बढ्दै जाँदा आउँदो दिनमा अझ राजनीति संकट बढ्ने देखिन्छ । नयाँ पुराना सबै पार्टीका आफ्ना आफ्नै नीति सिद्धान्त र राजनीतिक आदर्श हुन्छन् । तर सत्ता प्राप्तिका लागि हुने गलत शक्ति अभ्यास र गठवन्धनले निर्वाचन होला सत्ता परिवर्तन होला तर स्थिरता सुशासन र मजवुत लोकतन्त्र स्थापना हुन सक्दैन । भगवानले सृष्टिको क्रममा सुन्दर जनावर वनाउछु भन्दा उट बन्यो भने जस्तै नेपाल को लोकतन्त्र पनि उट बन्ने खतरा छ।
नेपालको लोकतन्त्र सत्ता शक्ति र राजनीति जनताको सेवाको लागि भन्दा पनि जुवाको खालमा बस्ने जुवाडे र च्याखे थाप्नेहरुको वरपर दाउ घुम्ने र च्याखे बल्झने अवस्थामा पुगेको छ । यस्तो लोकतन्त्रबाट निर्वाचित जनप्रतिनिधि जनता भन्दा पनि आफ्नो स्वार्थमा लिप्त भएको देखिन्छ । निर्वाचनको प्रचाारप्रसाारमा जनतालाई पीडा भएका विषय र मागलाई सके पनि नसके पनि पूरा गरिदिने जथाभावी मीठो भाषण र वाचा गरेर बारम्बार निर्वाचित जनप्रतिनिधिले बोलेका भाषण र वाचा पूरा गर्नु त परको बिषय हो । जनतामा फर्केर नजाने केन्द्रमा शक्तिशाली नेताको सेवामा बढी केन्द्रित भएर एउटै व्यक्ति वारम्वार अवसरमा लिप्त हुने प्रवृत्तिले नेताले जनता प्रति विश्वास गुमाउँदै गएका छन । नेपाली काङ्ग्रेस,नेकपा एमाले ,माओवादी वा वर्तमान कम्युनिस्ट पार्टीलाई बारम्बार अवसर दिएर थाकेका आमजनता फेरि बैकल्पिक राजनीति शक्ति खोजीरहेको अवस्थामा पुराना दल नेता र उनीहरुको चरित्रलाई नाङ्गो वनाउदै निलो क्रान्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो संसदीय अभ्याससगै फागुन २१ निर्वाचनको मुखमा समानुपातिक लिस्ट तयार पार्दै गर्दा समानुपातिकमा परेका निलो क्रान्तिका क्रान्तिकारीहरुलाई हेर्दा राजनीति जानकारहरुमा एक खालको निराशा जन्माएको छ । समाजमा जनताको सेवा भन्दापनि डिजिटल सामग्री र सामाजिक संञ्जालमा बोलेर पुरानो व्यवस्थाविरुद्ध भएका गलत कार्यको भण्डाफोर गरेर उदाएका शक्तिहरु पनि एक ठाउँमा उभिएर पुरानो सत्ताविरुद्ध गठवन्धन गरिरहेको अवस्थामा अपार मतसहित बहुमत प्राप्त हँदा पनि स्थिर सरकार र जनप्रिय काम हुनेमा आशंका देखिन्छ। परिवर्तन र उच्च महत्वकांक्षा राखेर आफ्नो पेसा व्यवसायलाई त्यागेर देश वनाउने संकल्प र हुटहुटी भएका समूह एउटा नेतृत्व स्वीकारेर अघि बढ्न कति सक्लान् त्यो प्रतीक्षाको विषय देखिन्छ ।
भावनामा वगेर भन्दापनि सुझबुझसहित असल नेतृत्व लोकतन्त्रले खोजेको छ । चाहे गठबन्धन होस, चाहे महागठबन्धन होस् दुवै खाले अभ्यासमा नेता नेतृत्वको अवसरमा केन्द्रित देखिन्छ । यस्तो अवस्थामा नेताले जनताको हितमा काम गर्न सकेको देखिँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु