
सयपत्री समाचारदाता
सिमरा, २४ पुसः बाराको जीतपुरसिमरा वडा नं २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको ६८ औँ वार्षिकोत्सवको उद्घाटन गरिएको छ । बिहीबार विद्यालयको स्मारिका विमोचनका साथै विविध कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
सूर्य नेपाल प्रालिका कारखाना म्यानेजर सुरेश काजी श्रेष्ठले उदटन गर्नुभएको कार्यक्रममा शिक्षा विकास तथा समन्यव इकाइ बाराका प्रमुख अशोक रौनियार, जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावकको संघका सदस्यहरु, सञ्चारकर्मी, शिक्षक, अभिवावक, विद्यार्थी लगायतकोे उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । यस्तै गरी लागू औषध विरुद्धको जनचेतनामूलक लघु नाटक, कविता प्रस्तुत गरेका थिए भने विभिन्न खेलकुद कार्यक्रममा विजेता बनेका छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा ९ का छात्र पंकजकुमार सहनीले विद्यालयसम्बन्धी आफ्ना धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सीता अधिकारीले गर्नुभएको थियो ।