२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

निरन्तर समय दिएर दृढताका साथ लाग्ने मान्छेमात्र सफल हुन्छः समाजसेवी हुसेन

२०७८ पौष १५, बिहिबार मा प्रकाशित ( साल अघि) १११२ पाठक संख्या

कासिम हुसेन सिमरा क्षेत्रका लागि नयाँ नाम होइन । उनले थुप्रै सामाजिक संघसंस्थामा काम गरेर लोकप्रियता बटुलेका छन् । विगत लामो समयदेखि खानेपानी तथा सरसफाइका क्षेत्रमा लाग्दै आएका उनको पछिल्लो समयमा राजनीतिमा समेत सक्रियता बढेको देखिन्छ । वि.सं २०६६ सालमा सिमरा खानेपानी तथा सरसफाइ कार्यालय सम्हालेका हुसेनले खानेपानी तथा सरसफाइको क्षेत्रमा निकै विकास गरेको देखिन्छ । उनै समाजसेवी हुसेनसँग हाम्रा सहकर्मी सीता अधिकारीले गरेको संवादः

1640847974003

तपाइँको समाजसेवाको सुरुवात कसरी भयो ?
२०४६ सालमा तारादेवी उपाध्यायले पैनीलाई मासेर पोखरी निर्माण गरी गाउँबासीलाई समस्या पारेको, पानी माग्न जाँदा बाख्राको खोरमा थुन्ने, धम्की दिने, तर्साउने गरेपछि मेरो नेतृत्वमा मैले गाउँवासीलाई पानी उपलब्ध गराएसँगै आफूलाई समाजसेवातिर अग्रसर गराएको हो ।

तपाइँ त यातायात व्यवसायी पनि हैन र ?
तात्कलिन समयमा बारा यातायात (हाल तराई यातायात )को संस्थापक सदस्य रहेर आफैँले आफ्नो खर्चमा मन्त्रालयमा गएर दर्ता गराएको र पछि म कोषाध्यक्ष बनेको थिएँ । त्यसैगरी सम्पूण यातायताको संस्थापक अध्यक्ष बनेर काम गरेको । थुप्रै गाडी तथा ट्याक्टर समेत समावेश गरेको पछि २० लाख रुपियाँ र १० धुर जग्गा आफूले जोडेको थिएँ , कम्प्युटर, मोटरसाइकल जोडेको तर आफूले छोडेपछि ती सबै गायव भएको र कार्यलय नै बन्द भएको छ ।

खानेपानीको नेतृत्वमा चाहिँ कसरी पुग्नुभयो ?
वि. सं २०६६ सालदेखि खानेपानीलाई व्यवस्थित गर्न सबै साथीभाइ तथा शुभचिन्तकको आग्रह भएपछि म सिमरा खानेपानी संस्थाको अध्यक्ष बनी नेतृत्व सम्हाल्न पुगेको हुँ ।

तपाइँ अध्यक्ष बन्दा संस्थाको अवस्था कस्तो रहेको थियो ?
संस्थामा सुरुमा आठ लाख रुपियाँ थियो । कर्मचारीको विदाको पैसा ६ लाख बाँकी रहेको थियो । त्यतिबेला १२ सय धारा थियो । बजारमा उधारो बाँकी पनि थियो । खानेपानीमा निकैे समस्या थियो । ग्याँस फ्याकट्रीका जनताले खाली गाग्रो र जुलुस निकालेर चक्काजाम गर्थे र हैरान बनाउँथे । कार्यलयको गेटमा धर्ना दिन्थे । म आइसकेपछि विस्तारै त्यो समस्या समाधान हुँदै गयो । हाल खानेपानीमा २ करोड १९ लाख रुपियाँ खातामा सुरक्षित रहेको छ ।

के के काम सञ्चालन भएका छन् त ?
२ नं आयोजना कालागि ३ करोडको लगानीमा सम्पन्न गरी औराहाको ३ नं आयोजनाका लागि ५ करोड रुपियाको आयोजना ल्याएको, औराहाको सम्पन्न गरेर पानी खुल्ला गरेको त्यसपछि रामबनको १० करोडको आयोजनामा अफिस भवन, २ वटा बोरिङ निर्माण गरी ४ लाख ५० हजार लिटरको ओभरहेड ट्याँकी निर्माणधिन अवस्थामा रहेको छ ।

शैक्षिक विकासका लागि चाहिँ के गर्नु भयो नि ?
सामुदायिक विद्यालय सिमराको व्यवस्थापन समितिमा रहँदा वजेट ब्यवस्थापन गरेको थिएँ । अहिले सामुदायिक कलेजलाई खानेपानीको तर्फबाट १५ लाख सहयोग गरेका छौँ ।

चारवर्षे कार्यकाल भएपनि पटक पटक एउटै पदमा रहिरहनु भएको छ ,  आर्थिक लोभलालचले पो हो कि ?
बाहिरबाट हेर्दा मानिसले मलाई त्यो सवाल पनि गर्छन् तर जनताले नै विश्वास गरेकोले मैले जनताको विश्वासमा कुठाराघात गर्न हुँदैन । जनताले नै नछोड भन्छन् मलाई । यस कार्यकालमा सबै राजनीतिक दल मिलेर मलाई हटाउन खोज्दा पनि जनताले मलाई जिताएकोले जनताको मायाले नै मैले अध्यक्ष पद सम्हालेको हुँ । यसमा मेरो कुनै स्वार्थ छैन ।

यति लामो समय किन त एउटै संस्थामा रहनुभयो अरुलाई मौका दिनुपर्दैन ?
खानेपानी संस्था भनेको अरु संस्था जस्तो होइन । यो खानेपानी व्यवस्थापन गर्न धेरै समय लाग्छ । कतिपय ठाउँमा राम्रो काम गरेका अध्यक्ष जबरजस्ती हटाउँदा ठूलो समस्या आएर एउटै संस्थामा वीस वर्षसम्म अध्यक्ष भएको उदाहरण पनि छ । त्यसैले खानेपानी संस्थामा लामो अनुभव भएको व्यत्तिले नेतृत्व लिँदा खानेपानी सञ्चालन र व्यवस्थापन गर्न सहज हुन्छ । यतिमात्र कारण हो ।

यसको क्षेत्र कहाँसम्म छ ?
सिमरा खानेपानीको क्षेत्र जीतपुर सिमरा उपमहानगरपालिका को ६ वटा वडामा रहेको छ ।

नगरपालिकाले खानेपानीलाई आफ्नो स्वामित्वमा लिने चर्चा छ नि ?
हाम्रो संस्था त्यक्ष संघीय कार्यलयबाट सञ्चालित कार्यलय हो । यसमा उपभोक्ता कै अधिकार रहन्छ । स्थानीय सरकारले सहयोग गर्ने, निगरानी गर्ने कुरा त राम्रो हो । हाम्रो सबै गतिविधि सँघीय कार्यालयले हेर्छ ।

खानेपानीकै लागि आगामी योजना के छ ?
चौथो आयोजनाको काम भैरहेको छ । एसकाटा भन्न्ने सिस्टम छ अहिले । कनट्रोल रुमबाट पानी खोल्ने बन्द गर्ने, सबै सिस्टमहरु , रिडिङसमेत कार्यालयबाटै गर्न सकिने सिस्टम आउँदै छ । नेपाल सरकारसँग कुरा हुँदैछ । नेपाल सरकारले जापनिज कम्पनीसँग कुरा गरेको छ । जपानले लालबन्दी खानेपानी र सिमरा खानेपानीलाई प्राथमिकतामा राखेको छ । त्यो सिस्टममा लैजाने कुरा चलिरहेको छ ।

तत्काल गर्नुपर्ने काम ?
आन्तरिक व्यवस्थापन गर्नुपर्ने, एक ठाउँमा विग्रियो भने सबै धारा बन्द गर्नुपर्ने बाध्यता छ अहिले , त्यसलाई सिस्टममा लैजानुपर्ने छ । त्यो एक किसिमको सिस्टम विकास गरेर लैजानुपर्ने छ । सहरीकरणले पाइपमाथि पूरै ढलान भैरहेको छ, यसलाई व्यवस्थापन गर्न थप चुनौति छ । पुरानो पाइप निकालेर ढलानको छेउबाट नयाँ पाइप व्यवस्थापन गर्नुपर्नेछ ,यसका लागि पाइप पनि आइसकेको छ । कर्मचारीको व्यवस्थापन गर्नुपर्ने छ ।

आगामी कार्यसमिति कस्तो हुनुपर्छ ?
अहिले भैरहेको कामको गुणस्तर सन्तोषजनक छ । यो गुणस्तरलाई कायम राख्दै थप नयाँ कार्य गर्नसक्ने कार्यसमितिलाई स्वागत गर्न चाहन्छु । नेतृत्व चयन गर्दा विचार गर्नुपर्छ । जनता सबैले निगरानी गनुृपर्छ । अहिले निरन्तर विहान ५ वजेदेखि नौ बजेसम्म र दिउँसो तथा बेलुका तीन पटक पानी दिने व्यवस्था मिलाएका छौँ । यसमा सामान्य घटबढ भयो भने ठूलो समस्या पर्छ । त्यसलाई ध्यान दिन जरुरी छ । केही अधुरा काम छन् । ती पूरा गर्न हामी उपभोक्तासँग सल्लाह गरेर अगाडी बढ्दै छौँ । एक कार्यकाल वसेर आगामी नेतृत्व लिन सक्ने व्यत्ति तयार गरेर हस्तान्तरण गर्दा ठीक होला जस्तो लाग्छ ।

पानीको गुणस्तर परीक्षण गर्नुहुन्छ कि हुँदैन ?
पानीको गुणस्तर परीक्षण गर्न ल्याब छ हामीसँग । जापान सरकारले किट उपलब्ध गराएको छ । एक एक महिनामा धाराबाट पानी ल्याएर परीक्षण गर्ने गरेका छौँ र रिपोर्ट केन्द्रमा पठाउने गरेका छौँ ।

अलिकति प्रसङ्ग बदलौँ है त , तपाइँ त राजनीतिमा पनि चासो राख्नुहुन्छ , चुनाव आउन लाग्यो, तपाइँको विचार केछ ?
म ४६ सालदेखि नेकपा एमालेको राजनीतिमा लागेको मान्छे, मैले अहिलेसम्म कुनै पदको दावी गरेको छैन । अहिले आएर नगरपालिका बिग्रियो भन्ने आम कार्यकर्ता, जनता बुद्धिजीवि लगायतको चाहना भएको र कासिमले जिम्मा लिनुपर्छ भन्ने चारैतिर आवाज उठेकोले आफूलाई पनि रहर लागेको छ । पार्टीले टिकट दिएमा जिम्मेवारी लिन तयार छु र नगरलाई पनि समृद्ध बनाउन तथा सुधार गर्न सक्छु ।

समाजसेवा राजनीति गर्ने तपाईलाई परिवारबाट कत्तिको साथ मिलेको छ ?
मेरो आफ्नै व्यवसाय छ । त्यसमा परिवारले मलाई सहयोग गरेको छ । ठेक्कापट्टाको र कारोवारको जिम्मा छोराले सम्हालेको छ । त्यसैले मलाई समाज सेवा र राजनीतिमा समय दिन गाह्रो छैन । आफूलाई परिवारको पूर्ण सहयोग रहेको छ ।

अन्त्यमा केही भन्नु छ कि ।
समाजसेवागर्ने कुरा हेर्दा सजिलो छ । तर गर्न गाह्रो छ । यसका लागि जुन संस्थामा पनि निरन्तर समय दिएर दृढताका साथ लाग्ने मान्छेमात्र सफल हुने हुँदा नेतृत्व लिँदा सोचेर मात्र लिनुपर्छ भन्ने लाग्छ र म आफूले अहिलेसम्म गरेको सेवामा पूर्णसन्तुष्ट रहेको छु ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%८%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु