सीता अधिकारी
सिमरा, २ असारः राकेशभक्त पौडेल हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले विहीबार पीडित पक्षसँग कुरा गर्दै घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँका अनुसार प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटना कर्तव्य ज्यानसम्बन्धी नै भएको देखाएको छ । हालसम्म १४ जना पक्राउ परेका छन् । जबरजस्ती करणीको कुरा के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रहरी प्रमुख तिमल्सेनाले हालसम्मको अनुसन्धानले त्यस्तो नदेखाएको बताउनुभयो ।
२७ घण्टापछि खुल्यो राजमार्ग
राकेशभक्त पौडेल हत्याको अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै मृतकका परिवार तथा पीडित पक्षले त्रिभुवन राजपथमा पर्ने बाराको जीतपुरमा गरेको सडक जाम २७ घण्टापछि खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र घटना कर्तव्य ज्यानको भएको साथै पक्राउ परेकी किशोरीले भनेजस्तो जबरजस्ती करणीको कुरा अनुसन्धानमा नदेखिएको बताएपछि प्रशासन र पीडित पक्षको सहमतिमा सडकजाम खुलाइएको थियो । हत्याको ३४ दिनभैसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितको स्थानीयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर बजारमा चक्काजाम गरेका थिए । घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरु स्वतस्फुर्त सडकमा उत्रिएका थिए ।
घटनाको २२ दिनमा पर्स फेला
मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सीमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ । पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेश भक्तको फोटो देखेपछि स्थानीय गाउँलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको थियो । पर्समा कागज पत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताउनुभयो ।
के थियो घटना ?
प्रहरीका अनुसार वैशाख ३० मा चित्रबहादुर केसीको घरमा जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियार प्रहारले घाउ लागेको थियो । हात र शरीरको अरु भागमा चोटपटक लागेको परिवारजनले बताएको छ । प्रहरीका अनुसार त्यसदिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागेको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को वडा सदस्यको लागि उम्मेदवारी दिएका थिए तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९ औं दिनमा सुरुमा किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा अन्य छ जनालाई पनि पक्राउ गरी अनुसन्धान थालियो । पुनः ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।