२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरका विद्यालयको छड्के अनुगमन, नगरस्तरीय परीक्षाको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा

२०७९ भाद्र २८, मंगलबार मा प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

सिमरा, २८ भदौः जीतपुर सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ । विद्यालय शिक्षामा सुधार ल्याउनका लागि उपमहानगरले छड्के अनुगमन गरेको बताएको छ । अनुगमनका क्रममा नगरभित्रका केही सामुदायिक विद्यालयको नगर स्तरीय परीक्षा कक्षा ८ को उत्तरपुस्तिका परीक्षण नै नगरी अंक दिएको भन्ने समाचारहरु सामाजिक सञ्जालमा आइरहेको छ । यस्ता समाचारसँगै वि सं २०७८ को शैक्षिक सत्रको नगरस्तरीय परीक्षाको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

उपमहानगरका प्रमुख राजन पौडेलको नेतृत्वमा गएको छड्के अनुगमन टोलीमा रहेका नगरका शिक्षा अधिकृत हरिश भट्टलाई पटक पटक सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ रहेको थियो । यसैविषयमा नगरका शिक्षा शाखा प्रमुख शिवजीप्रसाद साहलाई सम्पर्क गरी उत्तरपुस्तिका नै परीक्षण भएको छैन भन्ने कुरा सञ्जालमा आइरहेको छ, यस्तो हो भने नगरस्तरीय परीक्षाको लब्धांक पत्रको वैधानिकता के रह्यो त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हामीले विद्यालयबाट आएको मार्कलेजरको आधारमा लब्धांक पत्र बनाएर प्रमाणित गर्ने हो । यसमा हाम्रो दोष छैन ।’ उहाँले अबका दिनमा सुधार गरेर जाने बताउनुभयो ।
एकातिर उत्तरपुस्तिका परीक्षण नभएको भनि अनुगमन टोलीबाट समाचार बाहिरिनु र अर्कातिर ती विद्यालयका विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण भएको नतिजासहितको लब्धांक पत्र नगरपालिकाबाट वितरण हुनुले नगरस्तरीय परीक्षाको वैधानिकतामाथि नै प्रश्न चिन्ह खडा भएको सरोकारवालाले बताएका छन् ।
नगरले नगरस्तरीय परीक्षा नामको मात्र लिने गरेको गुनासो चारैतिर छ । नगरस्तरीय परीक्षामा होम सेन्टर कायम राख्नु, सम्बन्धित विद्यालयका शिक्षकलाई नै आफ्नो विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिनु, समयमा परीक्षण भएका उत्तर पुस्तिकाको सम्परीक्षण नहुनु, नगरस्तरीय परीक्षा समितिमा शिक्षक, विषय विज्ञको उपस्थिति न्यून हुनु जस्ता कमजोरी पनि देखिएका छन् ।
परीक्षा सकिएर लब्धांक पत्र सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको हात हातमा पुगिसकेको र कक्षा नौ मा अध्ययन गरिरहेको अवस्थामा उत्तरपुस्तिका परीक्षण नै नभएको भन्ने समाचार नगरप्रमुख र नगर शिक्षा शाखाबाट बाहिरिनुले समग्र नगरकै शिक्षाको बेथिति झल्काउँछ । यो त पहिला गाडीको लाइसेन्स प्रदान गरेर फेरि ट्रायल परीक्षा लिनुजस्तै देखियो ।

समाधान
बलियो परीक्षा समिति निर्माण, समयमै अनुगमन, अन्तरविद्यालय उत्तरपुस्तिका परीक्षणको व्यवस्था, विषय विशेषज्ञ छनोट र समावेश, विज्ञ टोलीसँग परीक्षा तयारी छलफल, विषयगत नतिजा विश्लेषण, उत्कृष्ट विद्यालय, र शिक्षक सम्मानजस्ता कुराहरु नगरले गर्नुपर्ने देखिन्छ ।

1663088406645

1663088406634

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु