२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नमुना मावि सिमरासहित बाराका ३ वटा विद्यालय मध्यमस्तरमा परे

२०७९ भाद्र ३१, शुक्रबार मा प्रकाशित ( साल अघि) ७६८ पाठक संख्या

 

सीता अधिकारी
सिमरा, ३१ भदौः सातवटै प्रदेशका करिब ४ हजार ८ सय सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा नेपाल राष्ट्रिय नमुना मावि सिमरासहित बाराका ३ वटा सामुदायिक विद्यालय मध्यमस्तरमा परेको छ । विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत अध्ययनमा नेपाल राष्ट्रिय नमुना माविसहित बाराका ३ वटा विद्यालय मध्यमस्तरमा परेका हुन् ।

देशभरिका ४ हजार ८ सय ४५ विद्यालयमा गरिएको अध्ययनमा ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजारवटा सामान्य र ७१ ओटा कमजोर विद्यालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बारा जिल्ला भरिमा ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका हुन् । गौरी शंकर मावि नीजगढ, गौरी शंकर मावि सडकटोल नीजगढ र नेरामावि सिमरा ७० अंकभन्दा माथि ल्याई मध्यम स्तरमा परेको नमुना मावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्यले बताउनुभयो ।
बारा जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् । परीक्षणको क्रममा ९० अंकभन्दा माथि ल्याउने उत्तम, ७० देखि ९० सम्म अंक आउने मध्यम, , ४० देखि ७० अंक ल्याउने सामान्य र ४० भन्दा कम अंक ल्याउने कमजोर रहेको बताइएको छ ।
देशभरीको अवस्था हेर्ने हो भने प्रत्येक प्रदेशलाई समेटेर ६० जिल्लाका ४ हजार ८ सय ४५ अर्थात् करिब ७० प्रतिशत विद्यालयका शैक्षिक, भौतिक पूर्वाधारलगायत विविध पक्षमाथि कार्यसम्पादन परीक्षण गरिएको हो । विज्ञ खटाएर विद्यार्थीलाई परीक्षामा अंक दिने जस्तै प्रत्येक विद्यालयलाई अंक दिएर राष्ट्रिय रूपमा परीक्षणको श्रेणीकरण गरिएको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले बताउनुभयो ।

एक सय पूर्णांकमा ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढि अंक ल्याउने विद्यालयलाई उत्तम (अब्बल) वर्गीकरण गरिएको हो । जसमा ७१ वटा माध्यमिक विद्यालय कमजोर रहेका छन् भने ४ हजार (८३ प्रतिशत) मावि सामान्य अवस्थामा सञ्चालन भइरहेको पाइएको छ । ७ सय ६८ वटा (१६ प्रतिशत) मावि मध्यम स्तरमा श्रेणीकरण भएका छन् भने ६ वटा मात्रै अब्बल ठहरिएका हुन् । विद्यालयमा लगानी, प्रक्रिया, उपलिब्ध र सेवाग्राही सन्तुष्टिसँग सम्बन्धित ८९ वटा सूचकलाई आधार मानी अध्ययन गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु