सीता अधिकारी
सिमरा,१० असोजः सडक बत्ती बलेपछि सिमरा बजार झलमल्ल बनेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको अग्रसरतामा सडक बत्ती बलेपछि सिमरा बजार उज्यालोले झलमल्ल बनेको हो ।
बीरगञ्ज पथलैया ६ लेन सडक आयोजनाले एक वर्ष अघि सडक बत्तीको काम सकेपनि विद्युत महसुल कसले तिर्ने भन्ने अन्यौलता भएकोले हालसम्म बत्ती बल्न सकेको थिएन । पथलैयादेखि सिमराको सूर्यटोवा अगाडिसम्म १ सय ९० वटा पोलमा ५०/५० गरी १०० वाटको बत्ती बालिएको छ ।
अहिले नगरप्रमुख राजन पौडेलले नगरापालिकाले विद्युत महसुलका लागि पहल गर्ने बताएपछि सडक बत्ती बालिएको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । उहाँले सडकका विभिन्न पोलहरुमा फरक परक रंगका बल्बहरु राख्दा त्यसले सिमरा बजारलाई थप सुन्दर बनाउने धारणा राख्नुभयो । यसैगरी उहाँले बत्ती १ सय २० वाट क्षमता भएको राख्न पनि आग्रह गर्नुभयो ।
६ लेन सडक आयोजनाका सूचना अधिकारी एवं इञ्जिनियर सञ्जिवकुमार गुप्ताले तत्काल महसुल आयोजनाले तिर्ने र पछि सडक विभागलाई आयोजना हस्तान्तरण भएपछि नगरपालिकाले तिर्ने गरी सडक बत्ती बालिएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख भोला अधिकारी, २ नं वडाका वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं १ का कार्यवाहक वडा अध्यक्ष अमन लामा, राजनीतिक दलका प्रतिनिधि, छ लेन सडक आयोजनाका प्रतिनिधि, विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।