२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सहमति कायम नगरे गठबन्धन तोडेर एक्लै मैदनामा ओर्लिन आफूहरु सक्षम रहेको जसपाका नेता रामबाबु यादवको भनाइ

२०७९ आश्विन १७, सोमबार मा प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ असोजः पहिलेकै सहमति कायम नगरे गठबन्धन तोडेर एक्लै चुनावी मैदनामा ओर्लिन पनि आफूहरु सक्षम रहेको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले बताउनुभएको छ । सञ्चारकर्मीहरुसँगको एक भेटमा उहाँले प्रतिनिधि सभामा गठबन्धनदलले पहिले गरेको सहमतिमा पुनर्विचार गरेन भने आफूहरुले गठबन्धन तोडेर आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रन सक्षम भएको बताउनुभएको हो ।उहाँले यदि अहिलेको गठबन्धन तोडियो भने अन्य दलसँग पनि सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

1664769917855

नेता यादवले नेपाली काँग्रेसले आफ्ना नेताहरुलाई व्यवस्थापन गर्न जसपाको भागमा परेको सिट पनि खोस्न लागेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो,‘मेरो नेता फलानो उसलाई व्यवस्थापन गर्नुपर्छ, भन्ने कांग्रेसको भनाइ छ । के काँग्रेसको को नेता मात्रै सबै ठाँउमा छ, अनि अरु दललाई व्यवस्थापन गर्नुपर्दैन ? यादवको आक्रोश थियो । यही विषयमा आफूहरुको विमति रहेको उहाँले जिकिर गर्नुभयो । उहाँले नेताको व्यवस्थापन भन्दा पहिला दलको सुनिश्चितता हुनुपर्छ, दलले नेताहरुको व्यवस्थापन आफ्नै पार्टीभित्र गरिनुपर्ने बताउनुभयो ।
‘मधेश प्रदेशमा जसपालाई २८ प्लस सिट दिनुपर्छ भनेर तयार गरेको प्रतिवेदनमा उहाँहरु पछि हटेकोमा हाम्रो आपत्ति हो,’ यादवले भन्नुभयो । ५ वर्षदेखि मधेश प्रदेशमा जसपाकै नेतृत्वमा सरकार सञ्चालन भएको छ । त्यो हिसाबले मधेश प्रदेशको आगामी नेतृत्व पनि जसपाकै हुनुपर्ने अध्यक्ष यादवको दावी थियो ।
यादवका अनुसार ‘मधेश प्रदेशमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसले ५० प्रतिशत सिट लिने र प्रदेशसभामा ५० प्रतिशत सिट जसपाले पाउने सहमति भएको थियो, तर कांग्रेसले सहमति तोड्ने काम गरेको यादवको आरोप छ ।
पछिल्लो समय गठबन्धनका दलहरुले संघीय निर्वाचन क्षेत्रअनुसार दलगत भागवण्डाको प्रारम्भिक खाका सार्वजनिक गरिसकेका छन् । जसमा मधेश प्रदेशमा संघतर्फ कांग्रेसले १५, जसपाले ११, माओवादी केन्द्रले ५ र नेकपा एसले २ पाउने गरी गठबन्धन कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको अन्तिम खाका प्रस्तुत गर्नुभएको थियो ।
तर यसअघि कार्यदलले गरेको सैद्धान्तिक सहमतिमा जसपाले १३ सिट पाउने सहमति भएको यादवले भनाइ छ । प्रदेशसभामा जसपाले ५० प्रतिशत माग गर्दै आएको छ । तर कार्यदलले सुरुमा २८ प्लसमा प्रस्ताव गरेपनि पछि घटाएर २२ मा झारेकोमा जसपाले आपत्ति जनाउँदै आएको छ ।

यसैवीच पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति नमिले असोज २२ गतेसम्म गठबन्धन तोडिन सक्ने जसपाले जनाएको छ । यादवका अनुसार ‘गठबन्धन आफूहरुले कायम राख्न खोजेको तर यसभन्दा बाहिरका दलले पनि आफूहरुसँग सहकार्य गर्न खोजेको र ती दललाई लिएर पनि गठबन्धन हुन सक्नेछ ।यदि ‘त्यो पनि भएन भने सहज वातावरणमा एक्लै चुनाव लड्ने तयारीमा रहेको यादवले बताउनुभयो ।

वि. सं २०७४ को निर्वाचनमा मधेश प्रदेशमा ३ लाख मत ल्याएको जसपाले गएको स्थानीय तह निर्वाचनमा ५ लाख ५० हजार मत पाएको यादवले दावी गर्नुभयो । पालिका संख्या नथपिए पनि वडा संख्या दोब्बर पुगेको यादवको भनाइ छ । ‘गठबन्धन तोडिएर एक्लै निर्वाचनमा जानुपरे पनि मधेश प्रदेशमा ५० प्रतिशत सिट जसपाले सजिलैसँग जित्न सक्ने यादवले जिकिर गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु