सीता अधिकारी
सिमरा, ४ मंसिरः बारामा ६६.८६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ। बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी सरोजकुमार चौधरीले बताउनुभयो ।
मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्र नं १ को कोल्हवी नगरपालिकाको कार्यालय, क्षेत्र नं २ को महेन्द्र मावि महागढीमाई, क्षेत्र नं ३ को शैक्षिक तालिम केन्द्र गंगापुर बारा र क्षेत्र नं ४ को नेपाल राष्ट्रिय नमुना मावि सिमरामा मतगणना हुने जनाइएको छ।
जिल्लाका कुल तीन सय पाँच मतदान स्थलमा ५ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो । सुरक्षा स्थितिलाई हेरेर एक सय ४५ स्थल अति संवेदनशीलको सूचिमा राखिएको थियो । त्यस्तै एक सय आठ मतदानस्थल संवेदनशील र ५२ स्थल सामान्य भनि वर्गीकरण गरिएको थियो ।
शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थललाई वर्गिकरण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो ।
उहाँले निर्वाचनलाई शान्तिपूर्ण र विवादरहित ढंगबाट सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरेर ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
निर्वाचनमा बाराको चारवटा निर्वाचन क्षेत्रमा चार लाख ३३ हजार पाँच सय चार मतदाता रहेका छन् ।