२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दुई सहमहामन्त्री भएको बारा जिल्लामा काँग्रेस भयो निल

२०७९ मंसिर १०, शनिबार मा प्रकाशित ( साल अघि) ५६१ पाठक संख्या

सिमरा, १० मंसिरः देशभर सँघीय र प्रदेशको चुनावी परिणाम घोषणा भैरहेको छ । बाम लोकतान्त्रिक गठबन्धनको परिणाम सन्तोषजनक आएको छ । तर बारा जिल्लामा नेपाली काँग्रेस क्लिन स्वीप भएको छ ।
नेपाली काँग्रेसका दुई महान हस्तिहरु नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीको जिल्लामा काँग्रेसको यो लज्जास्पद हारले सम्पूर्ण कार्यकर्ता दुःखी बनेका छन् ।पाटीको जिल्ला अधिवेशन (जुन आन्तरिक हुन्छ ) देखि नै रहेको तुस स्थानीय निर्वाचन हुँदै आखिर यो प्रतिनिधि तथा प्रदेश सभामा पनि देखियो । यस निर्वाचनमा आइपुग्दा देशभर काँग्रेसकाो लहर छ तर बारा जिल्ला नील हुन पुग्यो ।
। २०७४ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं १ जितेको कांग्रेसले यसपटक संघ र प्रदेशका सबै पदमा पराजित भयो । बारा–१ मा प्रतिनिधिसभा सदस्यमा र प्रदेशसभातर्फ १ को (क), (ख), बारा–२ को (ख) र बारा–३ को (ख) गरी ४ वटा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएको कांग्रेस सबै क्षेत्रमा पराजित भएको हो । बारा १ मा बहालवाला खानेपानी मन्त्री तथा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी एमालेका केन्द्रीय सदस्य अच्युत मैनालीसँग करिव ९ हजार मतान्तरले पराजित भए । त्यसैगरी बारा १ को (क), (ख) का प्रदेशसभा सदस्यमा रमेश दंगाल र नागेन्द्रप्रसाद कानु, बारा–२ को (ख) का कांग्रेस उम्मेदवार रामअयोध्या यादव र बारा–३ (ख) मा जयचन्द्र चौरसिया पराजित भएका हुन् ।
सत्ता गठबन्धनभित्रको ठुलो दल जिल्लाको सबै निर्वाचन क्षेत्रबाट पराजित हुनुलाई गठबन्धनभित्रैबाट धोका भएको बताउँछन् बारा–१ का कांग्रेस उम्मेदवार उमाकान्त चौधरी । ‘आम नागरिक र शुभचिन्तकको तर्फबाट मलाई राम्रो मत आएको छ तर, गठबन्धनका तर्फबाट मलाई धोका भयो, माओवादी, लोसपासँग विश्वास गरेको थिएँ, हाम्रै पार्टीबाट पनि अन्तरघात भएको छ,’ चौधरीले भने, ‘हाम्रै साथीहरुले एमालेसँग मिलेर गद्दारी गरेका छन्, नसोचेको रिजल्ट आयो ।’
स्थानीय तह निर्वाचनलाई आधार मान्दा बारा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसको मात्रै ३२ हजार ४०२, लोसपाको ९ हजार ५०५, माओवादी केन्द्रको ६ हजार ६५८ र नेकपा एकीकृत समाजवादीको २ हजार मत छ । सत्ता गठबन्धनसँग ५० हजार भन्दा धेरै मत भएर पनि आफ्नो उम्मेदवार पराजित हुनुमा कांग्रेसभित्र र सत्ता गठबन्धनका दलहरुबीच टिकट बाँडफाँटमा भएको अन्तरकलहलाई एमालेले अवसरका रुपमा लिएको चौधरीको टिप्पणी छ ।

बारा १ मा मैनालीले ३९ हजार १९५ मत प्राप्तगर्दा कांग्रेस उम्मेदवार चौधरीले ३० हजार ५६ मतमात्रै ल्याएका छन् । स्थानीय तह निर्वाचनलाई आधार मान्दा बारा–१ मा एमालेको २६ हजार ६७० र एमालेसँग गठबन्धन गरेको जसपाको मत ६ हजार १७१ मात्रै देखिन्छ । दुवै दलको मत जोड्दा करिब ३२ हजार हुने भए पनि मैनालीले त्योभन्दा ७ हजार बढी मत प्राप्त गरेको देखिन्छ ।
बाराको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमध्ये हालसम्म प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ र प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल मात्रै विजयी भएका छन् । संघतर्फ बाराको २ वटा निर्वाचन क्षेत्र र प्रदेशको ३ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचनमा बाराको एउटै निर्वाचन क्षेत्रमा नजितेको एमाले यसपटक २ क्षेत्रमा निर्वाचित भएको छ । २०७४ मा बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी, २ मा जनता समाजवादी पार्टीका रामसहाय यादव, बारा–३ मा जसपाका रामबाबु यादव र बारा–४ मा लोसपाका एकवाल मियाँ निर्वाचित भएका थिए । २०७४ मा बाराको २ वटा संघीय निर्वाचन क्षेत्र जितेको जसपा यसपटक संघतर्फ एकमा झरेको छ भने प्रदेशतर्फ पनि हालसम्म ३ वटामा खुम्चिएको छ ।

बारा निर्वाचन क्षेत्र नं १ को संघ र प्रदेश गरेर ३ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका छन् । बारा १ मा उमाकान्त चौधरी, प्रदेशसभा (क) मा रमेश दंगाल, (ख) मा नागेन्द्र प्रसाद कानु पराजित भएका छन् । प्रतिनिधिसभातर्फ सो क्षेत्रमा एमाले उम्मेदवार अच्युत मैनाली, प्रदेश(क)मा एमालेका त्रिलोकी चौधरी (ख) मा जसपाबाट सरोजकुमार यादव निर्वाचित भएका छन् ।

बारा–२ मा प्रतिनिधिसभातर्फ रामसहाय यादव विजयी भएका छन् । प्रदेश तर्फ (क) मा सत्ता गठबन्धनबाट लोसपा उम्मेदवार मोतिलाल प्रसाद र (ख) मा कांग्रेसका राम अयोध्या प्रसाद यादव पराजित भएका छन् । ती क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार र जसपाका वच्चा राउत अहिर निर्वाचित भएका छन् ।

त्यसैगरी बारा ३ मा ५ दलीय गठबन्धनका उम्मेदवार लालबाबु सिंह तेस्रो स्थानमा पुगेका छन् त्यहाँ एमालेकी ज्वाला साह निर्वाचित भएकी छन् भने प्रदेशतर्फ (क) मा माओवादी उम्मेदवार मुकेश प्रसाद साह पराजित भएका छन् भने एमालेका रविन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै (ख) मा एमालेका महम्मद समिर विजयी भएका छन् ।
सत्ता गठबन्धनभित्र आफ्नो पार्टीको राम्रो जनाधार नभए पनि श्रेष्ठले १० हजार मतान्तरले एमाले उम्मेदवार एकवाल मियाँलाई पराजित गरेका हुन् । बारा ४ का निवर्तमान संघीय सांसद रहेका मियाँ टिकटकै लागि लोसपा पार्टी परित्याग गरेर उम्मेदवारी मनोनयनको दिन एमालेमा प्रवेश गरेर टिकट ल्याएका थिए । सो निर्वाचन क्षेत्रमा प्रदेश तर्फका (क) मा सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल)लाई पराजित गर्दै एमाले उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । बारा ४ (ख) मा भने जितेन्द्र सोनल विजयी भएका छन् ।

केन्द्रका शीर्ष नेताहरुले गरेको गठबन्धनलाई जिल्ला तहका नेता कार्यकताले पालना नगर्दा गठबन्धनको कुनै अर्थ नभएको बताउँछन् बारा १ (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार रमेश दंगाल । ‘पार्टीका शीर्ष नेताहरुले दिएको निर्देशन कार्यकर्ताहरुले इमानदारीपूर्वक पालना गरेको देखिएन,’ उम्मेदवार दंगालले भने । काँग्रेसको जनाधार हुँदा हुँदै पनि शुन्यमा पुग्नु असाध्यै दुर्भाग्य हो । बारा जिल्लाले समानुपातिक तर्फ सँघमा फरमुल्लाह मन्सुर र मधु शाही ठकुरी र प्रदेशमा माला लामा, चन्द्रशेखर यादव, फरक फरक क्लष्टरबाट पर्ने सम्भावना छ । तर विगतमा भन्दा समानुपातिक भोट पनि काँग्रेसको धेरै नै कम आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु