२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको तीनवटा वडामा मकै बाली उपचार शिविर सञ्चालन

२०७९ माघ ६, शुक्रबार मा प्रकाशित ( साल अघि) ४४६ पाठक संख्या

सीता अधिकारी
डुमरवाना, ६ माघः मकैको बोटमा समस्या देखिएपछि मकै मिसन कार्यक्रम लागु भएका बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तीनवटा वडामा मकैबाली उपचार शिविर सञ्चालन गरिएको छ ।। मकै उत्पादन प्रवर्द्धन कार्यक्रम( मकै मिसन ) लागु भएका उपमहानगरको वडा १३, १४ र १५मा किसानहरुले लगाएको मकैको बोटमा समस्या देखिएपछि मकैबाली उपचार शिविर सञ्चालन गरिएको हो ।


बाराको जीतपुर सिमरा उपमहानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, सिमराका प्रमुख राधिका भारतीका अनुसार तीनवटा वडामा मकै मिसन कार्यक्रम आर्थिक वर्ष २०७६/ ०७७ देखि सुरु भएको हो । भारतीले भन्नुभयो, ‘पहिलो र दोस्रो वर्ष मकैको बिउ बाँड्यौँ तर किसानहरुको मकैबालीमा धेरै समस्या आयो ’। उहाँले ‘समस्या आउने गरेपछि बिउमात्र उपलब्ध गराएर नहुने रहेछ भन्ने लागेर रोग किराको प्रकोपबाट बचाउनका लागि पनि यस्ता शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता ठानेर शिविर सञ्चालन गरिएको हो’ भन्नुभयो ।
उहाँका अनुसार कुनैमा माटोको, कुनै बिउको, कुनै मौषमका कारण पनि समस्या आउन सक्छ । त्यो कस्तो किसिमको समस्या हो भन्ने पत्ता लगाएर मात्र किसानहरुलाई औषधी दिने गरिएको छ । बिउ राम्रो परेका बेला र रोग किराको प्रकोप नहुँदा किसानहरुले प्रतिकठ्ठा ४ क्वीण्टलसम्म मकै उत्पादन गरेको प्रमुख भारतीले बताउनुभयो ।

1674221127259
यता कृषि ज्ञान केन्द्र बाराका बाली संरक्षण अधिकृत सम्सुल हक मियाँ दर्जीले बिरुवा हेरेर के रोग लागेको छ भन्ने पत्ता लगाउन सकिने बताउनुहुन्छ । उहाँले मकैमा देखिएको मुख्य समस्या चिसोका कारण नफस्टाएको, छाँया परेको ठाउँमा पनि नफस्टाएको, नाइट्रोजन बढी प्रयोग, युरिया मलको बढी प्रयोग, पोटाँस मलको कमीका कारण मकैमा समस्या भएको बताउनुभयो । उहाँले मकै बालीलाई फौजी किरा र गवारो किराले पनि ध्वस्त बनाउने बताउनुभयो ।

यस्तो समस्या किन आउँछ त भन्ने प्रश्नमा बाली संरक्षण अधिकृत दर्जी भन्नुहुन्छ, ‘फौजी किरा र गवारो किरा प्रकृतिबाट आउने हो, मानिसहरुले जति धेरै युरिया मलको प्रयोग गर्छन त्यति नै धेरै यो किराको प्रकोप बढ्ने गर्दछ ’ । उहाँका अनुसार मकैबालीमा लाग्ने यस्तो रोगको वैज्ञानिक नाम साउथ रंग ब्लाइट हो । मकैको पातदेखि पूरै बोट नै सुक्दै गएर डढेको जस्तो देखिने हुनाले किसानहरुले यसलाई डढुवा रोग लागेको भन्ने गर्दछन् ।

यसको रोकथामको उपाय
यसको रोकथामको लागि मकै बालीमा रोग तथा किराको प्रकोप लाग्नै नदिन बिउ उपचार गर्ने, सबै बालीमा एकनासले पानी लगाउने , पानी जम्न नदिने, त्यसपछि पनि चिसो लागेर समस्या आयो भने भिटामिन र विषादीको प्रयोग गर्ने मियाँको भनाइ छ ।

लागत
मकै मिसन कार्यक्रमका लागि संघीय सरकारको साँढे २२ लाख अनुदान रकम अन्तरगत रहेर शिविर सञ्चालनार्थ तीन वटै वडाका लागि ५ लाखको विषादी किनेको र तीन दिन शिविर सञ्चालन खर्च प्रतिदिन ३० हजारका दरले ९० हजार गरी ५लाख ९० हजारको लागतमा मकै वाली उपचार शिविर सञ्चालन गरेको भारतीले बताउनुभयो । जसमा वडा नं १३ मा २ सय ८० जना किसानलाई वडा १४ मा ३ सय जना किसानलाई र वडा नं १५ मा पनि करिव ३ सय जना किसानलाई भिटामिन र विषादि निशुल्क वितरण गरिएको बताइएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु