२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रक्रिया झण्झटिलो हुँदा द्रुतमार्ग आयोजनाका लागि कटान गरिएका काठ माटोमा मिल्दै

२०७९ चैत्र ३, शुक्रबार मा प्रकाशित ( साल अघि) २६० पाठक संख्या

सीता अधिकारी
सिमरा, ३ चैतः हस्तान्तरण प्रक्रिया झण्झटिलो हुँदा द्रुतमार्ग आयोजनाका लागि रुख कटान गरिएका काठ कुहिएर माटोमा मिल्ने अवस्थामा पुगेका छन् । बाराको निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघभैरव, बकैया नागमणी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट कटान भएका काठ लामो समयदेखि अलपत्र हुँदा माटोमा मिल्ने भएका हुन् । हस्तान्तरण प्रक्रिया झन्झटिलो हुँदा बाराका वन क्षेत्रका काठ दाउरा माटोमा मिल्ने भएका हुन् ।

काठमाडौ–तराई/मधेस द्रुतमार्ग आयोजना निर्माणको क्रममा सेनाले कटान गरेका काठ दाउरा कानुनी प्रक्रिया झन्झटिलो भएकै कारण माटोमा मिल्दै जान थालेको उपभोक्ताले पनि गुनासो गरेका छन् । यी काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४/०७५ मा कटान भएका हुन् ।
पूर्व–पश्चिम राजमार्गको द्रुतमार्ग जिरो पोइन्टसँगै घाटगद्दी गरेर राखिएका केही काठ आगलागीले नष्ट भए अधिकांश कुकाठ प्रजातिका रुख आयोजनाले हतारमा कटान गर्नु र हस्तान्तरणमा ढिलाई गर्दा घाटगद्दीमै कुहिन थालेको सामुदायिक वन पदाधिकारीहरुको गुनासो छ ।

Received_877924523290249

आयोजनाले रुख कटान गर्दा बेसाइजमा रुख काटेकाले पनि उपभोक्ताले काठ लैजान चासो नदेखाएको र ठेकेदारले समेत नउठाएकोले काठ माटोमा मिल्न थालेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । उनीहरुका अनुसारर् वैज्ञानिक वन व्यवस्थापनका नाममा देशभर नै घाटगद्दीमा भएको काठ नचलाउनु भन्ने आदेश आएकाले पनि र त्यसै समयमा कोभिड १९ का कारण काठको ठेक्का लाग्न नसकेका कारण पनि काठ माटोमै परिणत हुने अवस्था आएको हो ।

सामान्यतया उपभोक्ताले घरायसी प्रयोजनका लागि ७ देखि ९ फिटसम्म लम्बाई भएको काठ बढी प्रयोग गर्ने गर्दछन् तर सेनाले ७ फिट देखि १७ फिट सम्मको साइजमा रुख कटान गरेको थियो ।
कछडिया सामुदायिक वनका अध्यक्ष विरेन्द्र ठाकुरले पटकपटक सूचना निकाल्दा पनि ठेकेदारले काठ सकार नगरेपछि सबै काम नलाग्ने गरी कुहिएर माटो भइसकेको बताउनुभयो । ‘हाम्रो सामुदायिक वनको ५ हजारभन्दा बढी क्युफिट काठ त आगलागीले डढेर नष्ट भयो, बाँकी भएको पनि सबै कुहिएर माटो भइसक्यो,’ उहाँले भन्नुभयो , सेनाले काठ हस्तान्तरण प्रकिया पूरा गर्नै १ वर्ष लगायो । त्यतिबेलासम्म कुहिन थालिसकेको थियो ।’

उपभोक्ताले काठ लिन इच्छा नदेखाएपछि सम्बन्धित सामुदायिक वनले पटकपटक ठेक्का सूचना निकालेका थिए । कछडिया सामुदायिक वनले तेस्रो पटकसम्म निकालेको सूचनामा ठेकेदार कम्पनीले ठेक्का सकार गरे पनि घाटगद्दीमा काठ कुहिएको देखेपछि काठ उठाउन नमानेको अध्यक्ष ठाकुरले बताउनुभयो ।

द्रुतमार्ग निर्माणको क्रममा आव २०७४/०७५ मै छपान भएका १२ हजार ४५७ रुखमध्ये हालसम्म ५ हजार ४५ रुख कटान भइसकेको छ । गत वर्षसम्म कटान भएको रुखबाट मात्रै करिव ५१ हजार क्युफिट काठ आयोजना निर्माणको क्रममा उत्पादन भएको छ । ढिलो गरेर हस्तान्तरण भएको काठलाई सरकारी दररेटमध्येकै पनि उच्च मूल्यमा ठेक्का सूचना निकाल्दा घाटगद्दीबाट काठ उठ्न नसकेको वन कर्मचारीहरुको भनाइ छ । सामान्यता कुकाठहरु कटान भएको वर्ष दिनभित्र प्रयोगमा ल्याइसक्नु पर्दछ ।

डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले काठको हैसियत बिग्रिए पनि राजस्व दररेटमा घटाउन नमिल्ने तर प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिले स्थलगत निरीक्षण गरेर लगत कट्टा गर्नसक्ने कानुनी व्यवस्था रहेको बताउनुभयो , उनले भन्नुभयो ‘भर्खरै आएको वन नियमावली २०७९ मा प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिलाई काठको अनुगमन निरीक्षण गरी कुन स्तरको हो स्तर हेरेर कम दररेट राखेर लिलाम गर्ने कि लगत कट्टा गर्ने निर्णय गर्न पाउने अधिकार छ ।’

कुन सामुदायिक वनबाट कति रुख कटान

Received_161457513431648

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको क्रममा आव २०७४/०७५ देखि रुख कटान सुरु भएको हो । जसमध्ये नीजगढ नगरपालिका वडा नं ४, कछडिया सामुदायिक वनमा १ हजार ९सय २३ रुख छपान भएकोमा तीन चरणमा ३सय १३ वटा रुख कटान भइसकेको छ । जसमध्ये चालु आर्थिक वर्षमा कटान भएको ४८ वटा रुख बाहेक ९ हजार ३ सय क्युफिट काठ उत्पादन भएको थियो ।

त्यसैगरी निजगढ नगरपालिका–१० स्थित जनहित सामुदायिक वनमा १ हजार १५ रुख छपान भएकोमा पहिलो चरणमा ६सय ४३ रुख कटान भएको थियो भने गत वर्ष ७४ वटा र चालु आवमा २० वटा गरी ७सय ३७ रुख कटान भएको छ । जसबाट ५ हजार ५ सय९ क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

सोही आयोजना निर्माणको क्रममा निजगढ नगरपालिका–४, स्थित बाघभैरव सामुदायिक वनमा १ हजार ७सय ४२ रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार ५सय १० रुख, दोस्रो चरणमा ७ वटा रुख कटान हुँदा ८ हजार ६सय १६ क्युफिट काठ उत्पादन भएको थियो ।

सोही आयोजनाभित्र रहेको निजगढ नगरपालिका–८ स्थित बकैया नागमणी सामुदायिक वनमा ५ हजार ६सय ८० रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार २सय १३ रुख कटान हुँदा १३ हजार ८सय ९३ क्युफिट काठ उत्पादन भएको थियो । दोस्रो चरणमा चालु आर्थिक वर्षमा ७सय ७२ रुख कटान भइरहेकाले यसको तथ्याङ्क भने आइनसकेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले जानकारी दिनुभयो ।

४ वटा सामुदायिक वन बाहेक निजगढ नगरपालिका–१० लालमा रहेको राष्ट्रिय वन क्षेत्रबाट पनि २०७५/०७६ मा २ हजार ९७ रुख छपान हुँदा हालसम्म ५सय ५६ रुख कटान भइसकेको छ । जसबाट १३ हजार ५७६ क्युफिट काठ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मै छपान आदेश पाएका रुखको हकमा पनि सेनाले डिभिजन वन कार्यालयसँग कटान आदेश लिएर चरणचरणमा कटान गरिरहेको छ ।

1679036627509

द्रुतमार्ग आयोजना कार्यालयले विगतमा छपान गरेका रुखहरु चालु आर्थिक वर्षमा पनि कटान गरिरहेको छ । घाटगद्दीमा राखिएका ती काठ पनि सेनाले हस्तान्तरणमा ढिलाई गरे यसपटक पनि उपभोक्तासम्म पुग्दा काठको हैसियत बिग्रिन सक्ने कछडिया सामुदायिक वनका अध्यक्ष ठाकुरको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु