सीता अधिकारी
सिमरा, ७ फागुनः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक हुन लागेको महोत्सवको जनाकारी दिन सोमबार प्रत्रकार सम्मेलनको आयोजना गरिएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव पहिलो जीतपुरसिमरा एक्स्पो हुन लागेको बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।
जीतपुरसिमरा महोत्सव २०८० फागुन १८ गतेदेखि फागुन २९ गतेसम्म वडा न ३ बजनीमा आयोजना हुँदै छ । जसमा कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो ।
‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा-मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ । महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले बताएका छन् । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ ।जीतपुरसिमरा उपमहानगरसहित वडा र उद्योगहरुसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो ।
महोत्सवमा विद्यार्थीहरुका लागि रु २५ रुपियाँको टिकट, युवाहरुलाई ५० रुपियाँको टिकट लाग्ने साथै अपांगता भएका तथा जेष्ठ नागरिकको लागि निशुल्क महोत्सव अवलोकन गर्न सकिने बताइएको छ ।
महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ । महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको बताइएको छ । सँघका सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजराु गिरी, संघका संस्थापक अध्यक्ष घनश्याम गिरी, सँघका पूर्व अध्यक्ष सञ्जय साह,लगायत बाराका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।