१४ जना विद्यार्थीको कक्षा १२ मा पढ्दा लागेको मासिक शुल्क एकैचोटी फिर्ता गरिदिने संस्थागत विद्यालय भने सायदै यो पहिलो
सयपत्री समाचारदाता
सिमरा, २४ साउनः विद्यार्थीको सफलताका लागि प्रोत्साहनको जरुरत पर्दछ भन्ने उदाहरणका लागि सिमरास्थित एसपीएस स्कुललाई हेरे पुग्छ । विदार्थीलाई गाली गर्दैमा मात्र शिक्षामा गुणस्तर आउने होइन । शैक्षिक गुणस्तरका लागि त विद्यार्थीको मेहनत, शिक्षकको लगनशिलता, अभिभावकको विद्यालयप्रतिको चासो साथै विद्यार्थीलाई विद्यालयले दिने सकारात्मक प्रोत्साहन नै महत्वपूणर् कुरा हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामाा रहेको एसपीईएस बोर्डिंग स्कुलका १४ जना विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजामा अक्षरांकन पद्धतिअनुसार ए प्लस ल्याए । उनीहरुको प्रोत्साहनका लागि विद्यालयले विहीबार बधाई तथा पुरस्कार वितरण कार्यक्मको आयोजना गर्यो । यतिसम्म त ठिकै हो । तर १४ जना विद्यार्थीको कक्षा १२ मा पढ्दा लागेको मासिक शुल्क एकैचोटी
फिर्ता गरिदिने संस्थागत विद्यालय भने सायदै यो पहिलो होला ।
सिमरा पब्लिक ईङ्गलिस स्कुल (एसपीईएस )का कक्षा ११ र १२ का संयोजक सुमन भटराईले ए प्लस ग्रेड ल्याउने १४ जना विद्यार्थीलाई ३० हजारका दरले नगद उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई सफल मात्र होइन असल बनेर समाज र राष्ट्रको सुयोग्य नागरिक बन्न पनि आग्रह गर्नुभयो ।
यस विद्यालयमा अध्ययनरत छात्रा काजल कुमारी मण्डलले कक्षा १२ को नतिजमा ३दशमलव ९१ जीपीए ल्याएर मधेशप्रदेशमै उत्कृष्ट हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत हप्ता नतिजा सार्वजनिक गर्दा मण्डलको ३दशमलव९१ जीपीए. देखिएको हो । एसपीईएस बोडिङ्ग स्कुल सिमराबाट कक्षा १२ को परीक्षा दिएका ७५ जना बिद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउने १४ जना ,ए ग्रेड ल्याउने २४ जना ,बी प्लस ग्रेड ल्याउने २१ जना ,बी ल्याउने ९ जना ,सी प्लस ल्याउने १ जना र ६ जना एक विषयमा अनुर्तीणर् भएको विद्यालयले जनाएको छ ।
सर्वोत्कृष्ट जीपीए ल्याउनेहरुमा क्रिषा भट्ट(३.८८), राजन श्रेष्ठ(३.८१), दीपक ठाकुर हजाम(३.७५),विवश श्रेष्ठ(३.७०), आशिका लामिछाने(३.७०), दीक्षा न्यौपाने(३.७०) दीपा पाठक(३.६६),प्रज्वन लामा(३.६५), अन्सु शर्मा वास्कोटा( ३.६४), इच्छुकुमारी स्यांगतान(३.६४), सुविन घले( ३.६४), स्वस्तिका श्रेष्ठ( ३.६४), सुजल पौडेल(३.६२) रहेका छन् । उनीहरुका अभिभावकसहित विद्यालयले विद्यार्थीलाई सम्मान गरेको हो ।
ए प्लस ग्रेड ल्याउने विद्यार्थीको सिमरा कलेजले एक वर्षको मासिक शुल्क नलिने
सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारीले जीतपुर सिमरा नगर भित्रका विद्यालयबाट पढेर ए प्लस ग्रेड ल्याई सिमरा कलेज सिमरामा भर्ना हुन आउँछन् भने वि एक वर्षको मासिक शुल्क नलिने घोषणा गर्नुभएको छ । विहीबार एसपीईस स्कुलका कक्षा १२ मा उत्तीणर् विद्यार्थीको बधाइ तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । कलेज प्रमुख अधिकारीले कलेजमा भर्ना हुन आउने विद्यार्थीको प्रोत्साहनका लागि एक वर्षको शुल्क मिनाहा गर्ने जानकारी दिनुभयो ।
कार्यक्रम जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख पौडेलले विद्यार्थीहरुलाई ट्रफी तथा चेक हस्तान्तरण गर्नुभएको थियो ।