सयपत्री समाचारदाता
सिमरा, १० कात्तिकः मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले जीतपुरसिमराका काँग्रेस कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । शनिबार ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सिमराद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा आउनुभएको अवसर पारेर काँग्रेस कार्यकर्तासँग भेटघाट गर्नुभएको हो ।
नेपाली काँग्रेसका महासमिति सदस्य एवं युवा नेता श्यामबाबु गुप्ताको विशेष पहलमा बारा जीतपुरसिमरा उपमहानगरपालिकाका काँग्रेसका निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम गरिएको बताइएको छ । भेटघाटका क्रममा युवा नेता गुप्ताले प्रदेशस्तरीय बजेट दिएर समृद्ध नगर विकास निर्माणमा सहयोग गर्न अर्थमन्त्री यादवसँग आग्रह गर्नुभयो ।
मन्त्री यादवले आफूले सक्दो सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नगर सभापति छवि शर्मा, नेता हरि थपलिया, ट्रेड यूनियन मधेस प्रदेशका कोषाध्यक्ष राजमणि बराल, नगर शिक्षक सँघका अध्यक्ष जय प्रकाश राय, विद्यार्थी नेता रिता रिजाल, शेखर भण्डारी, जनप्रतिनिधिहरु हिरा गुरुंग, दीपेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।